आफनै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ


 


रौतहट, फागुन १०
रौतहटमा सहकर्मीलाई जबरजस्ती करणी गर्ने चिकित्सक (अहेब) पक्राउ परेका छन्। आफनै क्लिनिककी महिला सहकर्मीलाई काममा राखेर जबरदस्ती करणी गरेको आरोपमा मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेल पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बताए।

पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भईसकेको डिएसपी महतोले जानकारी दिएका छन् । पछिलो दुईबर्षदेखी गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ ।

पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।

फेरी अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ । तर जिल्ला अस्पतालमा भएको स्वास्थ परिक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थपअनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्