लघुवित्तका कर्मचारीले घर घेरेपछि बुहारी बेपत्ता, सासूलाई बसिनसक्नु तनाव


 


बुटवल, फागुन ९
रुपन्देहीको सैनामैना नगरपालिका–९ पीपलडाँडाकी देउमाया थापा दुई छोरा छाडेर केही महिनादेखि बेपत्ता छिन् । घरै छाडेर हिँड्नुपर्ने कारण हो– लघुवित्तको ऋण । विभिन्न लघुवित्तका आकर्षक स्किम पत्याउँदै भटाभट ऋण लिएकी देउमायाले समयमा किस्ता बुझाउन सकिनन् । लघुवित्तका कर्मचारी दिनहुँजसो घर घेरा हाल्न आउन थाले । तनाव थेग्न नसकेपछि बुहारी भागेको सासू इन्द्रमतीले बताइन् । बुहारी बेपत्ता भएपछि दुई नाति अहिले इन्द्रमतीको जिम्मामा छन् ।

प्रधानमन्त्रीद्वारा लघुवित्तको बचाउः ‘धेरै देशमा लघुवित्तको ब्याज ५४ प्रतिशतसम्म छ’

प्रधानमन्त्री केपी ओलीले गलत तथ्यांक प्रस्तुत गर्दै विपन्न जनतामाथि शोषण गरिरहेका लघुवित्तको बचाउ गरेका छन् । उनले नेपालमा लघुवित्तको ब्याज विश्वमै सबैभन्दा सस्तो भएको गलत तथ्य प्रस्तुत गरेका हुन् ।

‘धेरै देशहरूमा लघुवित्तको ब्याज ५४ प्रतिशतसम्म छ, नेपालमा त विश्वमै सबैभन्दा सस्तो छ,’ बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘किनभने त्यो लघुऋण हो । ब्याजमा लगाएको ऋण उठ्दै–उठ्दैन । सानो ऋणमा लागत पनि महँगो पर्छ ।’ तर, विश्वका धेरै देशमा लघुवित्तले ५४ प्रतिशतसम्म ब्याज लिएको तथ्यांक पूर्णतः गलत हो । लघुकर्जा कार्यक्रमको सुरुवात बंगलादेशबाट भएको हो । नेपालमा पनि त्यहीँको मोडल लागू गरिएको छ । हालै बंगलादेशको केन्द्रीय बैंकले लघुकर्जामा नौ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकेको छ । यो व्यवस्था आगामी १ अप्रिलबाट लागू गर्नुपर्नेछ । त्यस्तै, दक्षिण अफ्रिकामा पनि लघुवित्तले दिने ऋणको ब्याज न्यूनतम ३ दशमलव ७५ देखि ११ दशमलव ७५ प्रतिशतसम्म छ । भारतमा लघुवित्तले दिने ऋणको ब्याज औसतमा २० प्रतिशत छ ।

वाणिज्य बैंकहरूले ठूलो व्यवसायीलाई दिने ऋणको ब्याज १३–१४ प्रतिशतभन्दा धेरै नभएको धेरै भइसक्यो । गत वर्ष मात्रै तरलता अभाव भएर वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर १३–१४ प्रतिशतसम्म पुग्दा देशभरका उद्योगी व्यवसायी आन्दोलित भए । बैंकमा तरलता वृद्धि गर्न सरकार लाग्यो । नीति परिमार्जन भए, बैंकहरूमा तरलता प्रवाह गर्न सरकारले नै हस्तक्षेप गर्‍यो । तर, लघुवित्तको ब्याजदर २५ देखि ३० प्रतिशत हुँदा र एकै व्यक्तिलाई डेढ दर्जन संस्थाले ऋण दिएर तिर्न नसक्दा आत्महत्या गर्नुपर्ने अवस्था निम्तिँदा पनि विपन्न किसानको पक्षमा बोलिदिने कोही भएन ।

०७३ मा नेपाल राष्ट्र बैंकले लघुकर्जाको ब्याजमा १८ प्रतिशतको सीमा लगाएको थियो । तर, अहिले त्यसलाई पनि छुट दिइयो । वाणिज्य बैंकहरूलाई साढे चार प्रतिशत स्पे्रडको व्यवस्था छ । तर, लघुवित्तलाई नौ प्रतिशत स्प्रेडमा काम गर्ने सुविधा दिइएको छ । लघुवित्तको सञ्चालन लागत बढी हुने कारणले त्यस्तो सुविधा दिइएको राष्ट्र बैंकको तर्क छ । प्रधानमन्त्रीले समेत यही दोहोर्‍याए । तर, लघुवित्तहरूले सम्पूर्ण लागत जोडेर जति आउँछ, त्यसमा पनि नौ प्रतिशत जोडेर ऋण लगानी गर्न पाउने व्यवस्था गरिएको हो । अहिले लघुवित्तको ब्याज २० देखि २१ प्रतिशतसम्म पुगेको छ ।

सम्पत्ति शुद्धीकरण विभागको गतिविधिमा पनि प्रधानमन्त्रीको असन्तुष्टि

सम्पत्ति शुद्धीकरण विभागले व्यवसायीलाई कागजपत्रसहित विभागमा हाजिर हुन चिठी काटेको विषयमा पनि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे । कसैले सम्पत्ति कमायो भनेर उसलाई आतंकित पार्ने पक्षमा सरकार नरहेको कुरा उनले बताए ।
‘हामी स्वच्छतामा विश्वास गर्छौँ । तर, कसैले राम्रो घर बनायो, राम्रो गाडी किन्यो भने सम्पत्ति छानबिन गरिहाल्ने हाम्रो नीति छैन । कोही धनी भयो भन्ने सुनेपछि सम्पत्ति छानबिन गरिहाल्ने नीति हाम्रो होइन,’ उनले भने ।

कसैको सम्पत्ति छानबिन गर्न आधार चाहिने प्रधानमन्त्रीले बताए । ‘सम्पत्ति शुद्धीकरण, आतंकवादलाई सहयोग गरेको वा कुनै अनुचित कारोबारको कुनै प्रकटीकरण भयो भने बुझ्नु बेग्लै कुरा हो । होइन भने हामीले कोही धनी भयो भन्नेबित्तिकै छानबिन गरिहाल्ने होइन, त्यसको पछाडि लागिहाल्ने होइन,’ उनले भने । स्वच्छ धनी हुने र पारदर्शी ढंगले कारोबार गर्ने अधिकार सबैलाई भएको पनि उनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्