एनएमसी अस्पतालमा शल्यक्रिया गरिएका ३ जनामा गम्भीर संक्रमण


 


काठमाडौं, फागुन ८
जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालको शल्यक्रियाकक्षमा शल्यक्रिया गरिएका बिरामीमा संक्रमण देखिन थालेपछि त्यसको स्रोत यकिन गरेर निर्मुल पार्नका लागि आइतबारसम्म त्यहाँको शल्यक्रियाकक्षलाई बन्द गरिएको छ ।

आइतबार र सोमबार प्रसुतीका लागि शल्यक्रिया गरिएकामध्ये तीनजनामा एकै प्रकारको संक्रमण देखिएकपछि सबै शल्यक्रियाकक्ष बन्द गरेर त्यसको अनुसन्धान सुरु गरिएको दाबी अस्पताल प्रशासनले गरेको छ।

अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठका अनुसार संक्रमण के कारणले गर्दा भएको हो भन्ने हालसम्म यकिन हुन सकेको छैन। ‘शल्यक्रिया गर्दा संक्रमण भएको हो। आइतबार र सोमबार शल्यक्रिया गरिएका मध्ये तीनजना बिरामीमा एकै प्रकारको संक्रमण देखिएको छ’ उनले भने, ‘हामीले के कारणले गर्दा संक्रमण भयो भनेर खोजी गर्दै छौं। संक्रमणको स्रोत यकिन भएको छैन। औषधिदेखि अन्य सामाग्रीको पनि कल्चर गर्न पठाएका छौं। त्यसको रिपोर्ट आएको छैन।’

डा. श्रेष्ठका अनुसार संक्रमण भएका तीनजना मध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था खतरा मुक्त रहेको छ।

ुशल्यक्रिया गर्दा प्रयोग गरिएका औषाधि लगायत सलाइन पानी आदीका कारण संक्रमण भएको आशंका हामीलाई छ’ उनले भने, ‘बिरामीको हितका लागि हामीले आउँदो आइतबारसम्मका लागि सबै प्रकारका शल्यक्रिया बन्द गर्ने निर्णय गरेका छौं।’

उनका अनुसार शल्यक्रिया लगत्तै देखिएको संक्रमण पछि बिरामीमा पिसाब नहुने लगायतका विविध प्रकारका समस्याहरु देखिएका थिए। तीनजना बिरामी मध्ये एकजनालाई थप उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको छ भने दुईजनाको एनएमसीमै उपचार भइरहेको उनले जानकारी दिए। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्