तानातानमा माधव नेपाल


 


काठमाडौँ, फागुन ७
पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा अलमलिए । लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नेपाल निवास पुगे र भलाकुसारी गरे । त्यही साँझ नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग उसैगरी छलफल भयो ।

गत माघ १९ गते सकिएको नेकपा केन्द्रीय कमिटी बैठकपछि नेपाललाई भेट्न र छलफल गर्न दुवै अध्यक्ष उत्तिकै सक्रिय देखिन्छन् । ‘अहिले उहाँलाई आ–आफ्नो टिममा पार्न दुवै अध्यक्षले प्रयास गरेझैं देखिएको छ,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘एउटा अध्यक्षले भेटेपछि अर्को अध्यक्षले भेटिहाल्ने या आफ्ना दूतलाई भेट्न पठाउने क्रम बढेको छ ।’

ओली पक्षले नेपालमाथि ‘फकाउने’ र ‘तर्साउने’ दुवै अस्त्र प्रयोग गरिरहेको जानकार स्रोतहरूले उल्लेख गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिनेबित्तिकै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई एउटा सन्देश स्पष्ट मिल्यो, अब आफ्नो मात्रै निर्णयबाट पार्टी चल्न मुस्किल छ । त्यो ठम्याइले उनलाई लामो समयदेखिको नेपालसँगको संवादहीनता तोड्न उद्यत गर्‍यो । सम्भवतः त्यही कारण बैठकलगत्तै पहिलो ‘वन अन वन मिटिङ’ नेपालसँगै गरे । माघ २० गते करिब चार घण्टा लामो छलफलमा ओलीको प्रस्ताव ‘अब मिलेर जाऔं’ भन्ने रहेको र त्यसमा नेपालले संशय व्यक्त गरेको उनीहरूनिकट स्रोतहरूको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुबेदीले लेखेकी छिन।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्