महराको निलम्बित सांसद पद फुकुवा हुने


 


काठमाडौं, फागुन ६
यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएपछि निलम्बनमा रहेको उनको सांसद पद फुकुवा हुने भएको छ। महरालाई सफाइ दिएको जानकारी संसद् सचिवालयमा आएपछि सभामुखले संसद् बैठकमा जानकारी गराउनेछन्। त्यसपछि महरा संसद् बैठकमा उपस्थित हुन पाउने संसद सचिवालयले जनाएको छ। संसद् बैठक मंगलबार १ बजे बोलाइएको छ।

यौन दुव्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महरा गत असोज २३ गते सांसद पदबाट निलम्बन परेका थिए। अदालतबाट सफाइ पाएका कारण उनले निलम्बनमा परेको समयको पनि सांसदले पाउने सबै सेवासुविधा पनि पाउनेछन्। सभामुख महरालाई संविधानको धारा १०३ को उपधारा (६) बमोजिम नियन्त्रणमा लिइएको थियो। प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २४४ को उपनियम (३) को प्रयोजनका लागि सोही नियमावलीको नियम २४४ को उपनियम २ बमोजिम सूचना जारी गरिएको थियो। अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।

महरासहित प्रतिनिधिसभाका पाँच सांसद विभिन्न आरोपमा निलम्बनमा परेका थिए। जनकपुर विमानस्थलमा तोडफोडपछि निलम्बनमा परेका राजपाका प्रमोद साहको निलम्बन यसअघि नै फुकुवा भइसकेको छ। निलम्बनमै रहेका तीन सांसद कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, राजपाका रेशम चौधरी, तत्कालीन संघीय समाजवादी फोरम (हाल समाजवादी पार्टी) का हरिनारायण रौनियार हुन्। गच्छदार गत माघ २३ गते बालुवाटारस्थित ललित निवासको जग्गा अनियमितता प्रकरणमा निलम्बनमा परेका हुन् छन् भने चौधरी टीकापुर घटनाको योजनाकार भएको भन्दै २०७४ पुसदेखि नै निलम्बन छन्। पम्पु कन्स्ट्रक्सनका अध्यक्ष रहेका रौनियार भने भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएपछि २०७५ असोज १९ गतेदेखि निलम्बनमा छन्।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्