इन्जिनियरको चार करोड गैरकानुनी सम्पत्ति, परे अख्तियारको फन्दामा
काठमाडौं, फागुन ६
झन्डै चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीविरुद्ध तीन करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।
सडक विभागअन्तर्गत कार्यरत रहँदा सडकका विभिन्न आयोजनामा बसी ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो । गैरकानुनी सम्पत्ति आर्जन गरी श्रीमती र छोरासमेतका नाममा खरिद गरेको घर तथा जग्गा, विभिन्न बैंकमा रहेको मौज्दात, लगानी, अन्य खर्च र उनको आम्दानीसमेतको अनुसन्धानबाट उनले झन्डै चार करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
गैरकानुनी रूपमा आर्जन गरेको बिगो श्रीमती र छोरा तथा आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुलउपर र जफत गर्न र नपुग बिगो चौधरी स्वयंसँग असुलउपर गरी जफत गर्नसमेत अख्तियारले माग गरेको छ । गत शुक्रबार अख्तियारले चौधरीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो ।
स्वीकृत सडक आयोजनाबाट ३५ लाख घुस लिएको अभियोगमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालि र सो कम्पनीको जोइन्ट भेन्चरमा ठेक्कामा काम गर्ने ठेकेदारसमेतबाट बाटो निर्माण गर्ने स्वीकृत आयोजनाबाट घुस लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
एकै महिनामा १० इन्जिनियर अख्तियारको फन्दामा
एक महिनाको अवधिमा १० जना इन्जिनियर अख्तियारको फन्दामा परेका छन् । यसमध्ये अधिकांशविरुद्ध मुद्दा दायर भइसकेको छ भने केहीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । गत ५ माघमा बागचौर नगरपालिकाको कार्यालय, सल्यानका तत्कालीन सबइन्जिनियर थमन योगी र असिस्टेन्ट सबइन्जिनियर तोरणबहादुर विष्टविरुद्ध अख्तियारले ७७ हजार सात सय बिगो रुपैयाँ कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अस्वाभाविक किसिमबाट बढी काम र लागत देखाएको, मापदण्डविपरीत निर्माण कार्य गराउने तथा झुटा बिल बनाई भुक्तानी दाबी गर्नेलगायतका भ्रष्टाचारजन्य गतिविधि गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । गत ११ माघमा अख्तियारले सिन्धुलीको घ्याङलेख गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर दिलीपकुमार शाहलाई दुई लाख ३० हजारका चेक र ३५ हजार नगदसहित रंगेहात पक्राउ गरेको थियो ।
गत २१ माघमा सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नवीनकुमार शाह र सबइन्जिनियर वीरेन्द्रकुमार शाहविरुद्ध १५ लाख ९६ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सडक निर्माण सम्पन्न भई अन्तिम बिल भुक्तानी गरिदिएबापत १५ लाख ९६ हजार घुस लिएको आरोपमा सोही रकमलाई बिगो कायम गर्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
सोही कार्यालयका निमित्त डिभिजन प्रमुख विनोद शाहविरुद्ध अख्तियारले सोही दिन तीन लाख बिगो कायम गरेर मुद्दा दायर गरेको थियो । सडक आयोजनाको अन्तिम बिल भुक्तानी लिने क्रममा उनले तीन लाख घुस लिएको अभियोग अख्तियारको छ ।
गत शुक्रबार अख्तियारले नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक ९केन्द्र प्रमुख० इन्जिनियर शेरबहादुर सुनारलाई रंगेहात पक्राउ गर्यो । कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीका क्रममा ७५ हजार घुस रकमसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।
सोमबार अख्तियारले राष्ट्रिय पुनर्निर्माण शाखा भोजपुरमा कार्यरत सबइन्जिनियर ९करार० प्रकाश तिवारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अनुदान लिन सहजीकरण गरिदिएबापत भन्दै उनले भूकम्पपीडितबाट ६ हजार घुस लिइरहेको अवस्थामा अख्तियारले उनलाई गत १० माघमा रंगेहात पक्राउ गरेको थियो ।
सोमबार नै आपचोक गाउँपालिका, भोजपुरका असिस्टेन्ट सबइन्जिनियर ९करार० विष्णुकुमार राईलाई अख्तियारले पक्राउ गरेको छ । खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि पाँच हजार घुससहित उनलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिक
प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार