चीनले कोरोना भाइरससँग लड्न लगायाे यस्ता बस्तुमा अनिश्चितकालीन प्रतिबन्ध!
काठमाडाैं, फागुन ५
कोरोना भाइरसविरुद्ध जारी युद्धको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट बाहिर निस्कन भनिएको छ ।
यसबाहेक निजी कारको प्रयोगमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै हूबे र ऊहान शहर प्रभावित भएका छन् जसमा अहिलेसम्म १६ सय ६५ को ज्यान गइसकेको छ ।
यद्यपि, चीनले लगातार तेस्रो दिन कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा गिरावट आइरहेको र यो फैलन रोकिएको घोषणा गरेको छ ।
के कस्ता प्रतिबन्ध छन् ?
चीनले सबैलाई घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । साथै एउटा घरबाट तीन दिनमा एक व्यक्तिलाई मात्रै खाना र अन्य अत्यावश्क सामान लिन जान छुट दिइएको छ ।
यस्तै, औषधी, होटल, किराना पसल र स्वास्थ्य सेवाबाहेकका सबै पसल बन्द गर्न आदेश दिइएको छ । सामान पुर्याउनेबाहेक सबै प्रकारको सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ ।
राजधानी बेइजिङमा आउने व्यक्तिलाई १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा एकान्तमा बस्न भनिएको छ । यस्तो नगरे सजायको प्रावधान पनि छ ।चीनको केन्द्रीय बैंकले भाइरस फैलन रोक्नका लागि प्रयोग गरिएका नोटलाई कीटाणुरहित गर्ने निर्णय गरेको छ ।
कति नयाँ संक्रमित आए ?
प्रशासनले दिएको जानकारी अनुसार आइतबार २ हजार नयाँ संक्रमित पुष्टि भए जुन शनिबार २६ सय ४१ थिए । यसअघि ५ हजार ९० नयाँ संक्रमित देखिएका थिए ।
चीनमा अहिलेसम्म ६८ हजार ५ सय व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । नयाँ संक्रमितमा आइरहेको कमीमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले यो आँकडाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने चीनको कोसिसलाई दर्साउने बताएका छन् ।
साथै, आयोगको दैनिक बुलेटिनमा देशभरी १ सय ४२ जनाको मृत्यु भइरहेको बताइएको छ जसमा सबैभन्दा धेरै मृत्यु हूबे प्रान्तमा भएको छ । एजेन्सीकाे सहयाेगमा
प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार