विद्यार्थीको उद्धार गर्न नेपाली जहाज चीन जाँदै


 


काठमाडाैं, फागुन ३
सरकारले आज चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धार गर्न जहाज पठाउँदैछ । एक सय ८५ नागरिक लिन सरकारले विशेष तालिमप्राप्त टोलीलाई शनिबार जहाजसहित चीनको हुबेई प्रान्तको वुहान सहर पठाउन लागेको हो । कोरोना भाइरसको त्रासले स्वदेश आउन चाहेका उनीहरूलाई लिन चिकित्सकसहितको टोली सरकारले पठाउन लागेको हो।

बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ ।३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चार जना चिकित्सक रहने छन्।नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ ।

साँझ ६ः४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं फर्किने छ । नेपाली समयअनुसार आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ । विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ । खरीपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा ती विद्यार्थीलाई १४ दिनसम्म राखिने छ ।

उद्धार गरी ल्याइएका विद्यार्थीको विभिन्न परीक्षण गरिने भएको छ भने १४ देखि १७ दिनसम्म उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने छ । विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने उनीहरूका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरूलाई भेटन पाउने छैनन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर राखेको छ । विद्यार्थीहरू चौबिसै घण्टा स्वास्थ्यकर्मीमो निगरानीमा हुनेछन् । खरीपाटीमा ८६ जना चिकित्सक खटाइने भएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्