मन्त्रीलाई हिम्मत भए बाहिर निस्किएर देखाउनुस् भन्दै नेताले दिए कालोमोसे दल्ने चेतावनी!


 


प्रदेश २, फागुन ३
पछिल्लो समय प्रदेश २ मा ब्यापक रुपमा भ्रष्टाचार बढेको छ। भ्रष्टाचार तथा आपरदर्शित लगायत प्रदेश सरकारको कमी कमजोरीलाई लिएर राष्ट्रिय जनता पार्टीका एक नेताले प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन । राजपा धनुषा अध्यक्षमण्डलका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानु’ले समाजिक संजाल मार्फत मन्त्री साहलाई कालोमोसो दल्ने चेतावनी दिएका हुन्।

उनले फेसबुकमा स्टाटस लेख्दै मन्त्री साहलाई कालोमोसो दल्ने चतावनी दिएपछि अहिले राजपामा तरङ नै फैलिएको छ। उनले फेसबुकमा लेखेका छन् ‘हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस्, कालोमोसे दल्छौं । हामी पनि आफ्नो औकात देखाइदिन्छौं ।’

नेता झा जस्तै धनुषाका अन्य केही युवानेता तथा कार्यकर्ताले पनि मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी समाजिक सञ्जालमा दिएका छन् । नेता झाले मन्त्री साहलाई पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । यस विषयमा आज पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए ।

मन्त्री साहले आफूसँग दुर्व्यवहार गरेको नेता झाले आरोप लगाएका छन् । ‘तपाईं आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएर किन बजेट विनियोजन गर्नुहुन्छ ? प्रदेशका सबै जिल्लामा समानुपातिक ढंगले बजेट विनियोजन किन गर्नुहुन्न ? तपाईंको यस्ता कार्यशैलिप्रति प्रदेशका जनता रुष्ट छन्, जनगुनासो बढिरहेको छ, मन्त्रालयहरू पारदर्शी भएनन् । मैले भनेको यति हो,’ नेता झाले भने, ‘त्यसपछि मन्त्रीले मलाई तपाईंको औकात नै के छ र ? भन्दै अपमानित गरे ।’

घटना पश्चात राजपाका धनुषा जिल्ला नेता कार्यकर्ताले मन्त्री साह जनकपुरधामको कुनै कार्यक्रममा सहभागी भए कालोमोसो दल्ने चेतावनी दिए। यसअघि एकदिन मन्त्रालयकै कुर्सीमा बसेर तथानाम गाली गरेको भिडियो सार्वजनिक भएको थियो भने एक कार्यक्रममा मन्त्री साहले मेयरहरूलाई ‘पागल’ भनेका थिए । त्यस्तै मन्त्री साह पत्रकारलाई जुत्ताले हिर्काउने अभिव्यक्ति दिएर विवादित बनेका थिए ।

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्