प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन


 


काठमाडौ, फागुन २
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकार गठन भएको दुई वर्ष पुगेको अवसर प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्न लागेको उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए ।

शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने सम्भावित कार्यसूची छ ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालका अनुसार, प्रधानमन्त्री ओलीले संसदमा सरकारको दुई वर्षे कार्यअवधिबारे समीक्षात्मक सम्बोधन गर्नेछन् । २०४८ को निर्वाचन पछाडि गिरिजाप्रसाद कोइराला बाहेक अन्यले दुई वर्षे सरकार चलाउन पाएका थिएनन् ।

२०७४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रष्ट बहुमत पाएपछि ओली नेतृत्वको सरकारले दुई वर्षे अवधि पुरा गरेको छ । ओलीले नेतृत्व गरेको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संसद बैठकलाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्