इराकमा अमेरिकी सेनाको बेसमा रकेट हमला


 


एएफपी, फागुन २
इराकको दुर्गम किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य ठेगाना (बेस) मा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको एएफपीले इराकी तथा अमेरिकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै लेखेको छ । अलजजिराका अनुसार के–वान बेसमा बिहीबार राति करिब ८ बजेर ४५ मिनेटमा रकेट प्रहार भएको थियो । लगत्तै, अमेरिकी सेनाको विमानले सो क्षेत्रमा गस्ती सुरु गरेको थियो ।

सन् २०१९ को डिसेम्बर २७ पछि उक्त बेसमा हमला भएको यो पहिलो पटक हो । त्यतिबेला बेसमा एकैपटक ३० वटा रकेट प्रहार हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । वासिङटनले उक्त हमलाको आरोप इरानसँग निकट रहेको काइताब हजबुल्लाहमाथि लगाएको थियो ।

अमेरिकाले उक्त आक्रमणको जवाफी कारवाही गर्दा २५ काइताब हजबुल्लाह लडाकु मारिएका थिए । केही दिनपछि अमेरिकाले इस्लामिक रेभुलुसनरी गार्ड कर्प्स (आईआरजीसी) कुड्स फोर्सका जनरल कासेम सुलेमानी तथा काइताब हजबुल्लाहका संस्थापक अबु महदी अल मुहान्दिसको ड्रोन हमला गरी हत्या गरेको थियो ।

पछिल्लो रकेट हमला पनि यही हत्याको विरुद्धमा भएको हुनसक्ने अनुमान गरिएको छ । सुलेमानी र महदीको हत्यापछि इराकी सांसदले जनवरी ३ मा इराकमा रहेका ५ हजार अमेरिकी सेनालाई त्यहाँबाट हट्न मतदान गरेको थियो । तर, अझै पनि अमेरिकी सेना इराकमा तैनाथ रहेका छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्