विराट एक्स्पो भोलिदेखि, तयारी पूरा
विराटनगर, फागुन १
भोलिदेखि विराटनगरमा सुरु हुने विराट एक्स्पो २०७६ (अन्तराष्ट्रिय कृषि,औद्योगिक प्रदर्शनी ) को तयारी पूरा भएको छ । एक्स्पोको स्टल निर्माण, सडक कालोपत्रे लगायतका काम अन्तिम चरणमा पुगेको मुल आयोजक समितिले जनाएको छ ।
एक्स्पो मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले मेलालाई भव्यता दिनेगरी गरिएको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । एक्स्पोको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने कार्यक्रम छ ।
व्यापार मेलामा हेलिकोप्टर चार्टड गरी विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारीलगायतको व्यवस्था गरिएको छ । कलाकारको सांगितिक प्रस्तुतीलगायतका विभिन्न आकर्षणहरू पनि एक्स्पोमा समावेश गरिएको आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो । नोवेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुने छ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर लाइट र सिसि क्यामाराको व्यवस्था गरिएको छ । मेलाका लागि विराटनगर महानगरपालिकाको सहयोगमा सडक मर्मत तथा कालोपत्रेको काम पनि तिब्र पारिएको छ । मेला आयोजना गर्न २ करोड बढी खर्च लाग्ने अनुमान छ ।
मेलामा दैनिक उपभोग्य बस्तुहरू, कृषिजन्य उत्पादनहरू, लत्ताकपडा तथा मनोरञ्जनका सामाग्री, खानाका स्टलहरू प्रदर्शनीका लागि राखिने छ । एक्स्पोमा १ अर्ब रुपैया“ बढीको कारोबार हुने संयोजक दुलालले जानकारी दिए । एक्स्पोमा जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तराष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोवाइल्सका रहने छन् । यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाका, २० वटा जनचेतनामूलक, खानाका १० वटा स्टल रहनेछन् । एक्स्पोको अबलोकन ३ लाख बढीले गर्ने अयोजक समितिले जानकारी दिएको छ ।
प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार