कोरोना भाइरसबाट चीनमा एकैदिन २४२ को मृत्यु, संक्रमितको संख्या ६० हजार पुग्यो


 


एजेन्सी, फागुन १
कोरोना भाइरसका कारण चीनको हुबेइमा बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको छ। एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३५० पुगेको छ।

यसैगरी १४ हजार ८ सय ४० जना नयाँ संक्रमित देखिएका छन्। हुबेइको स्वास्थ्य निकायले बृहत तरिकाले संक्रमित पहिचान गरेसँगै संक्रमितको संख्या पनि उच्च तरिकाले बढेको हो। योसँगै संक्रमितको संख्या ६० हजार पुगेको छ।
यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार अपडेट जारी गर्दै २ हजार १५ जनामा संक्रमण देखिएको र यो २ साताकै न्युन भएको जनाएको थियो।

बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ । त्यस्तै प्रहरीले उनीहरुको घरमा शिलसमेत लगाएको छ। जसले त्यहाँको जन जीवन प्रभावित भएको छ। अहिले चीनको प्रभावित क्षेत्र सुनसान रहेको छ।

सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन्। करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको संख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ। सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।

गत वर्षको अन्त्यबाट वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।

संक्रमण फैलिएसँगै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले चीनमा यात्राको इतिहास नभएकाहरुमा पनि यो रोगको संक्रमण फैलिएको देखिएकोमा चिन्ता व्यक्त गरे ।‘अरु देशहरुमा सानो सङ्ख्यामा संक्रमण फैलिएको देखिएको छ । तर, यो हामीले देशेको हिमशीला ‘आइसबर्ग’ मात्र हुनसक्छ,’ उनले भनेका छन् ।

उनले सबै राष्ट्रहरुलाई भाइरसको संक्रमण भित्रन सक्ने सम्भावित अवस्थाबारे तयार रहन आग्रह गरेका छन् । साथै, सबैलाई नअत्तालिन पनि भनेका छन् ।हालसम्म चीनबाहिर हङकङ र फिलिपिन्समा यस भाइरसको संक्रमणबाट मानिसले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्