डेढ खर्बले घट्यो बजेट, वृद्धिदर लक्ष्य नजिक पुग्ने


 


काठमाडौं, फागुन १
सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपैयाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६–७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजित रकमको ९०.४ प्रतिशत हो ।

बजेटको आकारसँगै चालू, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । यसअघि सरकारले बजेटमा ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ चालू खर्च गर्ने लक्ष्य राखेको थियो ।

त्यस्तै चार खर्ब ८ अर्ब ५९ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा यसलाई संशोधन गर्दै तीन खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय खर्चतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक समीक्षामार्फत यसको आकार एक खर्ब ५४ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याइएको छ ।

सरकारले राजस्व स्रोतको लक्ष्यसमेत घटाएको छ । राजस्व र आन्तरिक ऋणबाट ११ खर्ब ७६ अर्ब रुपैयाँ स्रोत परिचालन गर्ने लक्ष्य रहेकामा त्यसलाई घटाएर ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ पुर्‍याइएको छ । यो कुल बजेटको ९५.६ प्रतिशत हो । त्यस्तै वैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड स्रोत सङ्कलन गर्ने लक्ष्य ४३ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याइएको छ । वैदेशिक ऋण दुई खर्ब ९८ अर्ब ८३ करोड लक्ष्य रहेकामा त्यसको आकार पनि घटाएर दुई खर्ब नौ अर्ब ९० करोड रुपैयाँ संकलन गर्ने अनुमान गरिएको छ । खतिवडाले संशोधित अनुमान गरिएका परिवर्तन सामान्य रहेको टिप्पणी गरे ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको पहिलो छ महिनामा चार खर्ब २२ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजनको २७.६ प्रतिशत हो । कुल खर्चमध्ये चालूतर्फ तिन खर्ब ९ अर्ब ६० करोड, पुँजीगततर्फ ६२ अर्ब ७८ करोड र वित्तीयतर्फ ५० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । अहिलेसम्मको खर्चका आधारमा विकास खर्च लक्ष्यको १५.४ र वित्तीय खर्च २९.९ प्रतिशत हो ।

वृद्धिदर लक्ष्य नजिक

सरकारले चालू आर्थिक वर्षमा बजेटमा निर्धारित लक्ष्यको नजिक आर्थिक वृद्धिदर पुग्ने जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि क्षेत्रको वृद्धिदर, औद्योगिक उत्पादनमा भएको विस्तार, होटल पूर्वाधारमा बढेको लगानी, जलविद्युत्, सडक र विमानस्थल निर्माणमा आएको तीव्रताजस्ता कारणले चालू आर्थिक वर्षमा उच्च वृद्धिदरको निरन्तरता कायम भएकाले लक्ष्य नजिक वृद्धिदर पुग्ने बताए । चालू आवको बजेटमा सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्