कोरोना भाइरसबाट लाग्ने रोगको डब्लूएचओले दियो औपचारिक नाम


 


काठमाडौं, माघ २९
चीनसहित विश्वका दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट लाग्ने रोगको नामाकरण गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले उक्त भाइरसबाट लाग्ने रोगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ ।

‘कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला हामीले कोरोना भाइरसको नाम कोभिड–१९ दिएका छौं,’ डब्लूएचओका प्रमुख टेडोर्स एडहानोमले भने ।

उनका अनुसार नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो । कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको उनले जनाएका छन् ।

यसअघि इन्टरनेसनल कमिटीले एसएआरएस–कोभ–२ मा कोरोना भाइरसलाई वर्गीकरण गरेको थियो । भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनमा हालसम्म हजार बढीको ज्यान गएको छ । ४२ हजारभन्दा बढी यो नयाँ भाइरसबाट संक्रमित भएका छन् ।

डब्लूएचओले संक्रमण फैलँदै गएकाले यसविरुद्ध आक्रामक रूपमा लड्न विश्व समुदायलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्