आजको पत्रपत्रिकामा टप सात समाचार
माघ २९
संघीय राजधानी काठमाडौंबाट बुधबार प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा विविध विषय परेका छन् । प्रमुख राष्ट्रिय दैनिकहरुमा नयाँ आईजीपी चयन, विवादिन एमसीसी, चीनबाट नेपालीलाई ल्याउने तयारीका बारेमा समाचारहरु प्रकाशित छन् ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको कान्तिपुर दैनिकमा समाचार छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई बढुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए । आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल पनि थिए । तर ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्ले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । आईजीपीमा नियुक्ति भएलगत्तै ज्ञवालीले प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षक सर्वेन्द्र खनाललाई बिदाइ गरे । खनालसहित तीन एआईजी र १८ डीआईजीले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनीसँगै सेवा प्रवेश गरेका तीन एआईजी पुस्कर कार्की, ठूले राई र धीरु बस्न्यात तथा १८ डीआईजीलाई बिदाइ गर्न मंगलबार बेलुका प्रहरी प्रधान कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालयभित्र निरीक्षकसम्म र उपत्यकामा उपलब्ध एसएसपी तहसम्मलाई आमन्त्रण गरिएको थियो । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले कार्यक्रमको संयोजन गरेका थए । त्यही क्रममा ज्ञवाली महानिरीक्षकमा बढुवा भएपछि सिधै प्रहरी प्रधान कार्यालय पुगे । अवकाश पाउन लागेका आईजीपी खनालसहितका अग्रजको बिदाइ कार्यक्रमबारे सरसर्ती जानकारी लिए । बिदाइ कार्यक्रममा अधिकतर अधिकृत अनुपस्थित रहे । ज्ञवाली र थापासँगै डीआईजीहरू मनोज न्यौपाने, महेन्द्र पोखरेल, कमल जिटी र विकास श्रेष्ठ मात्रै उपस्थित थिए । मंगलबारै अवकाश पाएर कार्यक्रममा अनुपस्थित रहेका एक डीआईजीका अनुसार १६ अधिकृतले बिदाइ कार्यक्रम बहिष्कार गरेको बताए । ‘हामीले आईजीपीबाट भएका अहमता, मपाइँत्व र गलत कार्यशैलीको विरोधस्वरूप उहाँसँगै बिदाइ हुन मन नलागेर बहिष्कार गरेका हौं,’ ती डीआईजीले भने, ‘फौजमा सामूहिक कार्यप्रणाली हुनुपर्थ्यो । यो २२ महिना उहाँबाट हामी होइन, म भन्ने प्रवृत्ति हटेन, त्यसकारण सन्देश दिन पनि बहिष्कार गर्नुपरेको हो ।’
राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक बर्ष ०७५/७६ मा मात्रै बालबालिकामाथि एक हजार ८ हिंसाका घटना भएको नयाँ पत्रिका दैनिकमा समाचार । त्यसमध्ये एक सय १२ घटना घरेलु मजदुरमाथि भएका हिंसाका छन् । ६ बालिका त मालिकबाटै बलात्कृत भए । यो तथ्यांक सञ्चार माध्याममा आएका ठुला घटनालाई समेटेर मात्रै तयार पारिएकाले घरेलु कामदारमाथि हुने हिंसाका घट्ना अझ धेरै छन् । ‘शहरका प्रत्येक पाँच घरमध्ये एकमा घरेलु मजदुर छन् । त्यसमा पनि अधिकांश बालमजदुर छन् । उनीहरू माथि कुनै न कुनै खालका हिंसा हुने गर्छ । हामीले अध्ययन गरेको त संचार माध्यममा आएका ठुला घट्ना मात्रै हुन् । त्यसैले घरेलु कामदारको संख्या र उनीहरूमाथि हुने हिंसाका घटनाको संख्या अझ धेरै छन्,’ परिषद्का प्रशासकीय अधिकृत कृष्ण भुसालले नयाँ पत्रिकासँग भने ।
उनका अनुसार महिला कामदारमाथि यौन हिंसाका घटना धेरै भएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार देशभर ५५ हजार ६५५ बालबालिका घरेलु मजदुर छन् । जबकि, कानुनले बालश्रम निषेध गरेको छ । बाल श्रम निषेधित र नियमित गर्ने ऐन–०५६ ले १४ देखि १८ बर्षसम्मका बालबालिकालाई जोखिमपुर्ण काममा लगाउन बन्देज गरेको छ । १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई त कुनै किसिमको श्रममा लगाउन नपाउने व्यवस्था छ । सहरिया र सम्भ्रान्त घरानामा घरेलु मजदुर धेरै छन् । हिंसाका घटना पनि यिनै घरानाभित्र धेरै हुने गरेका छन् । मालिकले श्रम शोषण, शारिरिक तथा मानसिक यातना दिने मात्रै होईन, यौन शोषण गरेका जघन्य अपराधका घटनासम्म प्रहरीमा पुगेका छन् । ‘सहरीय अधिकांश संभ्रान्त घरानाले घरेलु कामदार राख्ने गरेको पाइन्छ । त्यस्ता अधिकांश मजदुर १८ बर्षभन्दा कम उमेर समुहका छन् । उनीहरू माथि कुनै न कुनै खालको हिंसा हुने गरेको देखिन्छ,’ बरिष्ठ बालअधिकारकर्मी तारक धितालले भने ।
अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन्। कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए– ‘अबको परिवर्तन अमेरिकालाई मान्य हुँदैन।’ सत्तारुढ दल नेकपाभित्र एमसीसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा उठेका बेला अमेरिकाको यस्तो चेतावनी आएको हो। एमसीसी कम्प्याक्टबारे परामर्शका लागि आएका ब्रुक्सले सबै पक्षसँगको छलफलका क्रममा उक्त धारणा राखेको सहभागी एक अधिकारीले बताए।
ब्रुक्सले प्रधानमन्त्री केपी ओली, एमसीसीबारे अध्ययन गर्न बनेको सत्तारुढ दलको कार्यदल संयोजक पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वगृह/रक्षामन्त्री भीम रावल, अन्य नेता तथा सरकारी अधिकारीसँग भेट गरेका थिए। उनी मंगलबार स्वदेश फर्किएका छन्। उनले एमसीए नेपालको सञ्चालक समितिसँग अहिले भइरहेको कामको प्रगति र देखिएका समस्याबारे पनि छलफल गरेका थिए। कार्यदल सदस्य र अन्य नेताले एमसीसीबारे उनको धारणा सुनेका थिए। त्यसपछि समस्या नरहेको भन्दै नेताहरूले कम्प्याक्टलाई यथाशीघ्र अघि बढाउने जानकारी उनलाई दिए। सरकारले यो कार्यान्वयनमा जानेमा ढुक्क हुन ब्रुक्सलाई आश्वस्त पारेको भेटमा रहेका एक अधिकारीले बताए। सरकारको प्रतिबद्धताप्रति ब्रुक्स खुसी हुँदै स्वीकार गरेर काम अघि बढाउन सुझाएर फर्किएका हुन्। गत असार ३० मा प्रतिनिधिसभा विधेयक शाखामा एमसीसी अनुमोदनका लागि दर्ता भए पनि अझै अनुमोदन हुन नसकेपछि अमेरिका चिढिएको÷झस्किएको हो।
सैलुङका थुम्काथुम्कामा उभिएर वरिपरि नियाल्दा सगरमाथासहित देशका दर्जनभन्दा बढी हिमशृंखला देख्न सकिन्छ। काठमाडौं उपत्यकावरपरका डाँडाकाँडा, महाभारत शृंखलाका पर्वतहरू मात्र होइन, चुरे उपत्यकाका विभिन्न स्थानसमेत अवलोकन गर्न सकिने ती सुन्दर ती थुम्काहरू वास्तवमै प्राकृतिक ‘भ्युटावर’ हुन्। ३४ सय मिटर उचाइमा अवस्थित सैलुङ वास्तवमा प्राकृतिक भूस्वर्ग नै हो। तर पछिल्लो समय त्यहाँको सौन्दर्यलाई पुग्नेगरी कंक्रिटको भ्युटावरलगायत संरचना निर्माण भइरहेका छन्। व्यक्तिगत प्रयासमा मात्र नभएर पर्यटन मन्त्रालयसहित अन्य सरकारी निकायको पनि त्यस्ता संरचना निर्माणमा संलग्नता रहेको पाइन्छ। सौन्दर्यको नमुना स्थानलाई कुरूप पार्नेगरी सैलुङको डाँडामा भ्युटावरसहित अन्य संरचना ठड्याउन थालिएपछि सरोकारवालाहरू चिन्तित बनेको नागरिक दैनिकमा समाचार छ। २०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर उक्त भ्युटावर ठड्याइएको थियो। सैलुङका विभिन्न थुम्कामध्ये सबैभन्दा अग्लोमा ठड्याइएको भ्युटावर चारतले छ। अत्यधिक हावा चल्ने भएकाले कोठाहरू बारेर तीन तलासम्म झ्याल हालिएका छन् भने वरिपरि गारो लगाइएको छ। भ्युटावर चढेर र थुम्कामा उभिएर हेर्दा देखिने दृश्यमा खासै भिन्नता पाइँदैन। उक्त भ्युटावर बनाउने तयारीबारे थाहा पाएका स्थानीयले २०७० सालदेखि नै विरोध गर्दै आएका थिए। सैलुंगेश्वरको झोर मनगाउँलगायत बस्तीका स्थानीय पटकपटक सदरमुकाम चरिकोट आएर जिल्ला प्रशासनमा विरोधपत्र बुझाएका थिए।
प्रदेश सरकारहरूका लागि बहुप्रतीक्षित प्रदेश प्रहरी गठनको बाटो खुलेको कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रहरीको कार्यसञ्चालन तथा समायोजनसँग सम्बन्धित दुई अलग–अलग विधेयक मंगलबार प्रमाणीकरण गरेकी छन् । अब प्रदेशको आफ्नै प्रहरी संरचना बन्नेछ । संघीय संसद्का दुवै सभाबाट गत असोजमै पारित भइसके पनि सभामुख नभएका कारण ती विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थिएन ।
विधेयक उत्पत्ति भएको सदनका सभामुख वा अध्यक्षले पारित भएको विधेयकलाई प्रमाणित गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । चार महिनाभन्दा बढी समयसम्म प्रतिनिधिसभामा सभामुख पद रिक्त हुँदा सदनबाट पारित ६ वटा विधेयक प्रमाणीकरण हुन सकेका थिएनन् । नयाँ सभामुख अग्नि सापकोटाले गतसाता प्रमाणित गरेर पठाएपछि राष्ट्रपति भण्डारीले एकैसाथ नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय), प्रहरी समायोजन, भूमिसम्बन्धी (आठौं संशोधन), राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण, औद्योगिक व्यवसाय र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकलाई प्रमाणीकरण गरेकी छन् । सातवटै प्रदेश सरकार सञ्चालनमा आएको दुई वर्षपछि त्यहाँ प्रहरी गठनसम्बन्धी संघीय कानुन बनेको हो । संविधानले अधिकार दिए पनि संघीय कानुन नआउँदा प्रदेश सरकारहरूले प्रहरी प्रशासन चलाउन पाएका थिएनन् ।
चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । ११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरूलाई तालिम दिनेछ । चालक दलका सदस्यहरूको नाम गोप्य राखिएको छ । त्यस्तै, बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ । सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मीलाई सोमबार डा। ओझाको टोलीले तालिम दिएको थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपाली राख्न सुरक्षित स्थान (क्वारेन्टाइन)मा एक सय ९९ बेड तयार पारिएको बताए ।
सैलुङका थुम्काथुम्कामा उभिएर वरिपरि नियाल्दा सगरमाथासहित देशका दर्जनभन्दा बढी हिमशृंखला देख्न सकिन्छ नागरिक दैनिकमा समाचार। काठमाडौं उपत्यकावरपरका डाँडाकाँडा, महाभारत शृंखलाका पर्वतहरू मात्र होइन, चुरे उपत्यकाका विभिन्न स्थानसमेत अवलोकन गर्न सकिने ती सुन्दर ती थुम्काहरू वास्तवमै प्राकृतिक ‘भ्युटावर’ हुन् । ३४ सय मिटर उचाइमा अवस्थित सैलुङ वास्तवमा प्राकृतिक भूस्वर्ग नै हो। तर पछिल्लो समय त्यहाँको सौन्दर्यलाई पुग्नेगरी कंक्रिटको भ्युटावरलगायत संरचना निर्माण भइरहेका छन्। व्यक्तिगत प्रयासमा मात्र नभएर पर्यटन मन्त्रालयसहित अन्य सरकारी निकायको पनि त्यस्ता संरचना निर्माणमा संलग्नता रहेको पाइन्छ। सौन्दर्यको नमुना स्थानलाई कुरूप पार्नेगरी सैलुङको डाँडामा भ्युटावरसहित अन्य संरचना ठड्याउन थालिएपछि सरोकारवालाहरू चिन्तित बनेका छन्।
२०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर सो भ्युटावर ठड्याइएको थियो । सैलुङका विभिन्न थुम्कामध्ये सबैभन्दा अग्लोमा ठड्याइएको भ्युटावर चारतले छ। अत्यधिक हावा चल्ने भएकाले कोठाहरू बारेर तीन तलासम्म झ्याल हालिएका छन् भने वरिपरि गारो लगाइएको छ। भ्युटावर चढेर र थुम्कामा उभिएर हेर्दा देखिने दृश्यमा खासै भिन्नता पाइँदैन। सो भ्युटावर बनाउने तयारीबारे थाहा पाएका स्थानीयले २०७० सालदेखि नै विरोध गर्दै आएका थिए। सैलुंगेश्वरको झोर मनगाउँलगायत बस्तीका स्थानीय पटकपटक सदरमुकाम चरिकोट आएर जिल्ला प्रशासनमा विरोधपत्र बुझाएका थिए। ‘यति सुन्दर ठाउँमा भ्युटावर बनाउन नदिऔं भनेर सिडिओ कार्यालयमा पटकपटक डेलिगेसन गयौं,’ झोर मनगाउँका लालबहादुर श्रेष्ठले भने, ‘तत्कालीन सिडिओले त्यसप्रति चासो नै दिएनन्, बरु विकासमा अवरोध नगर्नुस् भनेर हप्काए।’
भ्युटावरको सट्टा पर्यटकलाई थुम्कामा बस्न मेच, कुर्सीलगायत बनाइदिन आफूहरूले गरेको आग्रहको कुनै सुनुवाइ नभएको श्रेष्ठले बताए । भ्युटावरसँगै स्थानीय तामाङ समुदायले छ्योर्तेन पनि निर्माण गरिरहेका छन् । सैलुङ गाउँपालिका–७ का वडाध्यक्ष धावा वाङ्गेल लामाको अध्यक्षतामा स्थानीयले समिति नै गठन गरेर छ्योर्तेन बनाउन थालेका हुन्। स्थानीय तामाङ समुदायको धार्मिक आस्थासँग जोडिएको यो छ्योर्तेन भ्युटावरकै छेउमा बनिरहेको छ।
प्रकाशित मिति: २९ माघ २०७६, बुधबार