तुइनबाट वारपार गर्न सय रुपैयाँ


 


हुम्ला, माघ २९
सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो । हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन । कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ । त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर ।

सय रुपैयाँ तिरेर तुइनबाट वारिपारि गर्नेहरूले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ । ‘पुरानो र धराप छ, तुइनबाट वारिपारि गर्दा भगवान्को नाम जप्छौं,’ स्थानीय काली विकले भनिन्, ‘पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन् ।’ कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन ।

खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्छन् । स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदा दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन् ।

अप्ठेरो बाटोमा जोखिम मोलेर यात्रा गर्न नसकिने भएपछि तुइन तर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गरिन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा छपाल लामाले लेखेका छन।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्