अनुदान दुरुपयोग गरेको भन्दै ६ कम्पनीसँग सम्झौता रद्द


 


काठमाडौं, माघ २८
सरकारले अनुदान दुरुपयोग गरेको भन्दै ६ कम्पनीसँग सम्झौता रद्द गरेको छ। अनुदान सम्झौता गरेका सफलर एग्रोफर्म प्रालि कैलाली, निलाम्बरी कोल्ड स्टोरेज प्रालि सर्लाही, मायादेवी एग्रो फर्म प्रालि कपिलवस्तु, दिव्य शीतभण्डार प्रालि झापा, कोशी कोल्ड स्टोरेज प्रालि सुनसरी र सुन्दरी फिस फर्म मोरङसँगको सम्झौता रद्द गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगतको अनुदान दुरुपयोग निष्कर्ष निकाल्दै सरकारले ती ६ कम्पनीसँगको सम्झौता रद्द गरेको हो। शीतभण्डार निर्माणका लागि मोबिलाइजेसन रकम लिएर अपारदर्शी खर्च गर्ने कम्पनीहरुसँगको द्विपक्षीय सम्झौता तोडिएको कृषिमन्त्री घनश्याम भुसालका सचिवालय प्रमुख उपसचिव गंगा आचार्यले बताए ।

परियोजना अन्तरगत साझेदारीमा शित भण्डार गृह निर्माणमा गत वर्ष भएको सम्झौताअनुसार सन्तोषजनक प्रगति नदेखिएपछि सरकारले यस्तो कदम चालेको हो। शीत भण्डार निर्माणको सम्झौता गरेका कम्पनीले सार्वजनिक खरिद ऐनको दुरुपयोग गरेको उनको कृषि मन्त्रालयको आरोप छ ।

मन्त्रालयले गरेको अनुगमनमा सम्झौता गरेका कम्पनीहरुले अनुदानको दुरुपयोग गरेको, भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नरहेको, मोबिलाइजेसन पेस्कीको दुरुपयोग गरेको तथा परियोजना व्यवस्थापन इकाइबाट दिइएको निर्देशन पालना नगरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्