उखु किसानको समस्या ज्यूँको त्यूँ!


 


काठमाडौं, माघ २८
नगदे बालीको रुपमा रहेको उखु खेतीबाट मनग्यै कमाइ हुन्छ भन्ने विश्वासले उखु खेती गरेका सिरहा र धनुषाका करिव ६ हजार पाँच सय किसानका आठ करोड बयालीस लाख रकम सरकारले नदिंदा किसानहरु चिन्तित बनेका छन् ।

एक वर्षभन्दा बढी भइसक्दा समेत सिरहा र धनुषाका ६ हजार पाँच सय किसानले सरकारी अनुदानका रकम पाउन नसक्दा किसानहरु चिन्तित बनेका छन् । सापटी एवम् महंगो ऋण कर्जा लिएर उखु खेती गरेका ती किसानहरुले सरकारी अनुदानका रकम त पाएका छैनन् नै हिमालय सुगर मिलका संचालकले समेत विभिन्न बहानामा समयमै रकम नदिंदा उनीहरु थप पीडित भएका हुन् ।

जिल्लामै सुगर मिल स्थापना भएपछि नगदे बालीको रुपमा रहेको उखु खेतीतर्फ किसानहरु आकर्षित भएका थिए तर समयमै रकम पाउन नसक्दा अहिले ती किसानहरु उखु खेती गर्ने कि नगर्ने मनस्थितिमा पुगेका हुन् । हिमालय सुगर मिलका नायव प्रबन्धक कृष्णलाल कर्णका अनुसार उखु किसानले मिलबाट पाउनु पर्ने रकम पाइसकेको बताउँदै सरकारी अनुदानको रकम नपाएकोले यस वर्ष उखु खेती गर्ने किसानमा समेत कमी आएको बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उखु किसानले पाउनुपर्ने अनुदान रकम मध्ये ६० प्रतिशत रकम आए पनि कृषकहरुले प्रमाण जुटाइ नदिंदा रकम दिन नसकिएको बताए । विभिन्न दुःख गरी उखु खेती गरेका किसानहरु अहिले मिल संचालक र सरकार दुवैबाट पीडित भएका छन् । बेलैमा यी यस्ता कमजोरीहरु नसच्याउने हो भने उखु खेती नै बन्द हुन सक्ने सरोकारवाला बताउँछन् ।।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्