लाइसेन्सको समय सीमा १० वर्ष कायम गरिदैं


 


काठमाडौं, माघ २८
सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताए ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्