कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्यो


 


काठमाडौँ, माघ २७
चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप ९७ जनाले ज्यान गुमाएको जनाएको छ । योसँगै चीनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगेको छ । बुहानमा फैलिएको कोरोनाभाइरसविरुद्ध त्यहाँको सरकारले कडा कदम चालेको छ। उक्त क्षेत्रमा गम्भीर रुप लिएको कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि त्यहाँको प्रशासनले आक्रमक शैली अपनाएपछि चिनियाँवासी त्रसित भएका छन् ।

बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ । त्यस्तै प्रहरीले उनीहरुको घरमा शिलसमेत लगाएको छ। जसले त्यहाँको जन जीवन प्रभावित भएको छ। अहिले चीनको प्रभावित क्षेत्र सुनसान रहेको छ।

सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । तर यी सम्पूर्ण प्रयासका बावजुद पछिल्लो चार दिनमा संक्रमितको संख्या बढेर दुई गुणा भएको छ । ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन्।

करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको संख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ। सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।

यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् । गत वर्षको अन्त्यबाट वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।

संक्रमण फैलिएसँगै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले चीनमा यात्राको इतिहास नभएकाहरुमा पनि यो रोगको संक्रमण फैलिएको देखिएकोमा चिन्ता व्यक्त गरे ।‘अरु देशहरुमा सानो सङ्ख्यामा संक्रमण फैलिएको देखिएको छ । तर, यो हामीले देशेको हिमशीला ‘आइसबर्ग’ मात्र हुनसक्छ,’ उनले भनेका छन् ।

उनले सबै राष्ट्रहरुलाई भाइरसको संक्रमण भित्रन सक्ने सम्भावित अवस्थाबारे तयार रहन आग्रह गरेका छन् । साथै, सबैलाई नअत्तालिन पनि भनेका छन् ।हालसम्म चीनबाहिर हङकङ र फिलिपिन्समा यस भाइरसको संक्रमणबाट मानिसले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्