प्रहरीसँगको मिलेमतोमै सीमा नाकामा तस्करी, तीन राउण्ड हवाइ फायर


 


रौतहट, माघ २७
रौतहटको मठिया प्रहरी चौकीको मिलोमतोमा नै खुलेआम तस्करी भइरहेको खुलासा भएको छ। आइतबार बिहान मठियाको सीमा नाकाबाट ठुलो परिमाणमा तस्करीको अवैध मालसमानसहित एक जना भारतीय तस्कर पक्राउ परेपछि प्रहरी चौकीको मिलोमतोमा नै खुलेआम तस्करी भइरहेको खुलासा भएको हो।

प्रहरीको विशेष टोलीले उक्त भारतीय तस्कारलाई पक्राउ गरेपछि तस्करीको यस्तो रहस्य सार्वजनिक भएको हो।

प्रदेश २ बाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले संयुक्त रूपमा प्रहरी चौकीदेखि करिब सय मिटर पूर्व रहेको सडक भएर तस्करीको समानसहित भारत बिहार पूर्वी चम्पारन ग्रामपञ्चायत चैनपुरका १८ वर्षीय सचिन गोसाइँलाई नियन्त्रणमा लिएपछि प्रहरीकै मिलेमतोमा हुने गरेको तस्करीबारे पोल खुलेको हो।

तस्करहरूले तस्करीको बस्तु भारततर्फ लैजाँदै गरेको अवस्थामा गौंडा ढुकेर सीमा–नाकामा बसेको प्रहरीको विशेष टोलीले रोक्न खोज्दा तस्करहरू भाग्न थालेपछि प्रहरीले तीन राउन्ड हवाई–फायरसमेत गरेको थियो।

तस्करीको केराउसहित पक्राउ परेका गोसाइँको बयानका आधारमा भन्डारण गरेको तस्करको गोदाममा समेत प्रहरीले छापा मारेको छ। गोदाममा छापा मार्दा करिब ७० बोरा केराउ बरामद भएको छ। स्थानीयले प्रहरी चौकी मठियादेखि करिब सय मिटर पूर्वको बाटोबाट नेपाल र भारत दुवैतर्फबाट तस्करी हुने गरेको भन्दै प्रदेश २ का प्रहरी प्रमुख प्रधुम्न कार्की र रौतहट प्रहरी प्रमुख रविराज खड्कालाई बारम्बार गुनासो गरेका थिए। स्थानीयको गुनासोपछि प्रहरीले तस्करी निरुत्साहित गर्न विशेष टोली परिचालन गरेको थियो। रौतहट प्रहरी प्रमुख खड्काले फरार तस्करहरूको खोजी भइरहेको र पक्राउ परेको गोसाइँलाई जिल्ला प्रहरीका कार्यालयमा राखिएको बताए।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्