ललितानिवास जग्गा प्रकरणः बकसको नाममा जग्गा नै घुस !


 



काठमाडौं, माघ २५
बालुवाटारस्थित ललितानिवासको एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लैजाँदा कर्मचारी र बिचौलियाले बकसको नाममा जग्गा नै घुस लिएको खुलेको छ । करिब २२ रोपनी जग्गा कर्मचारी र बिचौलियाले आफन्तको नाममा घुसस्वरूप बकस लिएका हुन् ।

अधिकांश कर्मचारीले व्यक्तिको नाममा जग्गा लैजान सघाउनेभन्दा मोहीलाई उकासेर मुद्दा हाल्न लगाउने ‘बार्गेनिङ’ गर्दै बकसस्वरूप जग्गा घुस लिएका हुन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नाममा रहेकाविरुद्ध मुद्दा दायर गरेर कतिपय त्यस्ता कर्मचारीलाई भने उन्मुक्ति दिएको छ । भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यले ससुरा वैकुण्ठराज शर्माको नाममा जग्गा घुस लिएका थिए ।

त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले पत्नी उर्मिला शाहको नाममा बकस लिएका थिए । त्यतिवेला उनी मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए । तर, अख्तियारले उनीविरुद्ध जग्गा बकस लिएको अभियोगमा मुद्दा दायर गरेको छैन ।

जग्गा व्यक्तिको नाममा लैजान भूमिका खेलेको अभियोगमा मात्रै मुद्दा दायर गरेको छ । श्रीमती उर्मिलाविरुद्ध भने बकस मुद्दा नै दर्ता गरेको छ । शाह लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका कर्मचारीसमेत हुन् ।

पूर्वसिडिओ गेहनाथ भण्डारीले पत्नी भुवनकुमारी चापागाईं र सासू सोदाकुमारी चापागाईंको नाममा जग्गा लिएका थिए । उनी मालपोत अधिकृत छँदा जग्गा घुस लिएका हुन् । भुवनकुमारी र सोदाकुमारीविरुद्ध अख्तियारले मुद्दा दायर गरे पनि भण्डारीलाई उन्मुक्ति दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले भने उनीमाथि पनि मुद्दा दायरको तयारी गरेको छ ।

त्यस्तै, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख प्रेमबहादुर खापुङले तीनजना आफन्तको नाममा बालुवाटारको जग्गा बकसको नाममा घुस लिएका थिए । उनले श्रीमती खिमादेवी आङबुहाङ, भिनाजु मोहन भट्टराई र सालाबुहारी सरस्वती सुब्बाको नाममा जग्गा लिएका थिए । तर, अख्तियारले खापुङविरुद्ध पनि बकस माग दाबीको मुद्दा चलाएको छैन । जग्गा नाममा भएका आफन्तलाई मात्रै बकस माग दाबीको मुद्दा चलाएको छ ।

डिल्लीबजार मालपोतकै तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले साढुभाइ इन्द्रबहादुर थापा क्षेत्रीको नाममा जग्गा घुस लिएका थिए । अख्तियारले देउजालाई पनि बकस माग दाबीको मुद्दा चलाएको छैन । सरकारी जग्गा व्यक्तिको नाममा लैजान मालपोत कार्यालयमा रहेर भूमिका खेलेको अभियोगमा मात्रै मुद्दा लगाएको छ ।

त्यस्तै, नायब सुब्बा जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंको नाममा बकस लिएको खुलेको छ भने युक्तबहादुर श्रेष्ठले श्रीमती निर्मलादेवी श्रेष्ठको नाममा जग्गा घुस लिएका थिए । उनीहरूविरुद्ध पनि मालपोत कार्यालयमा रहेर भूमिका खेलेको अभियोगमा मात्रै मुद्दा छ । बकस माग दाबीको मुद्दा आफन्तलाई मात्रै लगाएको छ ।

समरजंग कम्पनीका कर्मचारी विनोद पौडेलले श्रीमती विद्या पौडेलको नाममा जग्गा बकस लिएका थिए । अख्तियारले श्रीमतीविरुद्ध मुद्दा दायर गरे पनि विनोद पौडेलविरुद्ध कुनै पनि मुद्दा चलाएको छैन । जग्गा बकस लिएको मुद्दामा शान्ति मल्ल प्रधानांगविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ । तर, सिआइबीले गरेको अनुसन्धानमा जग्गा बकस लिनेहरूको सूचीमा प्रधानांगको नाम छैन ।

बिचौलियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ, रामनाथ घिमिरे र रामकल्याण अधिकारीले पनि बकसको नाममा जग्गा घुस लिएका थिए । उनीहरू सबैले मोही छुटाइदिने भन्दै आफ्नै नाममा बकस पास गरी जग्गा लिएका थिए ।

जग्गा कारोबारी घिमिरे र अधिकारी ६ रोपनी जग्गा लिएपछि फरार भएको राणा परिवारका एक सदस्यले सिआइबीलाई दिएको बयानमा उल्लेख छ । ढकाल, सुवेदी र गुरुङले पनि मोही छुटाइदिने, तर मालपोतदेखि मन्त्रिपरिषद्सम्म अनुकूल निर्णय गराइदिएबापत जग्गा बकस लिएका थिए ।

कसैले खुसी भएर बकसबापत जग्गा दिन सक्ने कानुनी प्रावधान छ । तर, बकस पाउने व्यक्तिले राणा परिवारलाई चिन्दै नचिन्ने भएकाले घुसबापत नै जग्गा लिएको पुष्टि हुने अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिक

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्