कार्यकाल लम्ब्याउने आईजीपी खनालको प्रयास भएन सफल


 


काठमाडौँ , माघ २४
कार्यकाल ६ महिना लम्ब्याउन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले गरेको पहल अन्ततः निरर्थक बन्ने भएको छ । यही माघ २८ गतेदेखि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश पाउन लागेका खनालले शुक्रवार बिहानसम्म पनि कार्यकाल लम्ब्याउन पहल जारी राखेका थिए । तर कुनै उपाय नलागेको गृह स्रोतले बताएको छ।

स्रोतका अनुसार आइजीपी खनालले आफ्नो कार्यकाल लम्ब्याउन राष्ट्रपति, प्रधानमन्त्रीदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षस्थ नेताहरूसँग भेटे गरेका थिए। आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले पनि एकैपटक अवकाश पाउँदैछन् ।

नेपाल प्रहरीका २६औं आईजीपी खनाललाई २८ गते बिदाइ गर्ने र २९ गते २७औं आईजीपीलाई स्वागत गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको स्रोत बताउँछ । स्रोतका अनुसार आईजीपी खनाललाई बिदाइ र नयाँलाई स्वागतको तयारीका लागि प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयमा परिपत्र समेत गरिसकेको छ ।

प्रहरी नियमावली २०७१ को दफा १२७ को उपदफा (१)को देहाय (घ) बमोजिम आईजीपी खनालले २९ गतेदेखि अवकाश पाउँदैनछन् । उक्त दफामा सेवाअवधिको ३० पूरा भएमा अनिवार्य अवकाश पाउने उल्लेख छ । यसका अलावा कार्यकाल ४ वर्ष पूरा भएमा वा उमेर हद ५८ वर्ष पार गरेमा पनि अवकाश हुने उल्लेख छ ।

खनाल २०४६ सालको माघ २९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

खनालसँगै एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अवकाशमा जाँदैछन् । यस्तै अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् ।

यता एसएसपी दिलिपसिंह बस्नेतले पनि सोही दिन अवकास पाउँदैछन् । आईजीपी खनालसँगै सबै २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाउन लागेका हुन् ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्