कोरोना भाइरसका कारण जापानमा जहाजमै कैद छन् ३७ सय मानिस


 


काठमाडौं, माघ २४
चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन जापानले नयाँ कदम चालेको छ । उक्त कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि क्रुज जहाजमा यात्रीहरूलाई थुनेर राखेको छ ।

योकोहामा तटमा रहेको क्रुजमा सवार यात्रुहरूमध्ये थप ४१ जनालाई संक्रमण भएको छ । यससँगै क्रुजमा रहेका कुल ६१ जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । डायमन्ड प्रिन्सेज क्रुजमा लगभग ३७ सय यात्रु छन् । उनीहरूलाई सोमवारदेखि क्वारेन्टाइनमा राखिएको छ ।

हङकङमा ओर्लिएका एक व्यक्तिलाई भाइरसको संक्रमण भएको पत्ता लागेपछि क्रुजलाई क्वारेन्टाइनमा राखिएको हो । चीनमा महामारीको रूप लिइसकेको कोरोनाभाइरसका कारण त्यहाँ मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ ।

हङकङमा दोस्रो क्रुज जहाव पनि क्वारेन्टाइनमा राखिएको छ । वर्ल्ड ड्रीम नाम उक्त जहाजमा ३६ सयजना सवार छन् । बुधवारदेखि त्यसलाई क्वारेन्टाइनमा राखिएको हो । हङकङका अधिकारीहरूका अनुसार, जहाजमा रहेका आठजनालाई संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्