राजधानीमा जुम्लाको अर्गानिक स्याउ
काठमाडौँ, भदौ २६ नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी जुम्लामा उत्पादित अर्गानिक स्याउ काठमाडौँ उपत्यकाका प्रमुख चौकमा बिक्री वितरण सुरु गरिएको छ ।
एस डिके एप्पल गार्डेनिङले यहाँ शनिबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरूमा झैँ यस वर्ष पनि चाडपर्वलाई लक्षित गरी जुम्लाको स्याउ काठमाडौँ ल्याइसकेको जानकारी दियो । सो गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अगार्निक स्याउ बिक्री वितरण गर्दै आएको छ ।
नेपालको अर्गानिक सर्टिफाइड, ताजा र गुणस्तरीय स्याउ उपत्यकाका फलफूल पसलबाट प्रतिकिलो रु १४० देखि १६० मा खरिद गर्न सकिनेछ ।
गत वर्षमात्र १५ टनको हाराहारीमा जुम्लाको स्याउ काठमाडौँमा बिक्री गरिएको गार्डेनिङका सञ्चालक दिनेश खड्काले जानकारी दिनुभयो । यसवर्ष भने १७ टनको हाराहारीमा बिक्री गर्ने लक्ष्य लिइएको छ । रासस
प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार