कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिनियाँ चिकित्सक नै रहेनन्


 



चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सक लि वेनलियाङको नै मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित चिकित्सक वेनलियाङको विहीबार मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

डब्लु एचओले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । जनवरी महिनाको शुरुवातमा वुहानका अधिकारीहरुले नयाँ कोरोना भाइरस फैलिएकोबारे सुरुमा समाचार लुकाउन खोजेका थिए।

तर, डाक्टर वेनलियाङले नयाँ कोरोना भाइरसबारे जानकारी दिन खोजे पनि प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिएको थियो।

शुरुवातमा ‘हल्लाबाज’ को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा पाएका थिए। चिनियाँ अधिकारीको चेतावनीका बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिएका थिए।

उनको जानकारीपछि यसबारे विश्वभर सचेतना फैलाउन थालिएको थियो । डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको पत्ता लगाएका थिए । उनी विभिन्न सात वटा रोगीको उपचारमा खटेका थिए।

उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए। सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो।

जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले। उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो। डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन सुझाएका थिए ।

ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो, ‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस्।’ लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो। लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो।

त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे। उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखेका थिए ।

जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए। प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो।

उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ। त्यसपछि लिपनि कोरोनाबाट संक्रमित बने। उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ।

जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए। त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए। उनको परिवार नै बिरामी पर्यो। डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो। चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो।

हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहीबार निधन भएको हो।नोबल कोरोनाभाइरसबाट विश्वव्यापी रुपमा २८,००० भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५६३ जनाको मृत्यु भइसकेको छ । एजेन्सी

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्