जब बिहानै लुम्बिनी अस्पतालका सटरमा चल्यो डोजर


 


काठमाडौँ, माघ २३
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु डोजर चलाएर भत्काउन सुरु गरिएको छ । अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खालि नगरेपछि प्रहरीको सहयोगमा बिहीबार बिहानै डोजर चलाइएको हो । डोजर चलाउन ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

प्रदेश सरकारको निर्णयअनुसार अस्पतालको स्तरोन्नतिका लागि सटरहरु भत्काउन थालिएको हो । एकाबिहानै सटर भत्काउन डोजर चलिरहँदा केही पसलेहरु आफ्नो सामान पोको पारेर लैजादैँ थिए भने कयौँ रमिते बनेर हेरिरहेका थिए । अस्पताल प्रशासनले सटर खाली गर्न बारम्बार ताकेता गर्दै आए पनि ब्यवसायीले अटेर गर्दै आएका थिए । परिणामस्वरुप बिहीबार बिहान ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सटर भत्काउन सुरु गरिएको हो ।

अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर २६ सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १ गते छलफलमा बोलाएको छ । तर मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काएको छ ।

अस्पतालमा ७३ वटा सटरमध्ये दुई वटा साझा (सरकारी) औषधि पसल बाहेक अन्य सटरहरुमा ६३ करोड रुपैयाँ लगानी भएको व्यवसायीहरुको दावी छ । गत कात्तिक १८ गते प्रदेश ५ को मन्त्रिपरिषद बैठकले अस्पतालका सटरहरु मंसिर मसान्तसम्म व्यवसायी आफैंले खाली नगरे डोजर लगाएर भत्काउने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत रुपन्देहीले व्यवसायीको विपक्षमा फैसला गर्‍यो । जिल्ला अदालतको फैसलासँगै अस्पताल प्रशासनले यही माघ २२ गतेसम्मको समय दिएर ४८ घण्टाभित्र सटर खाली गर्न अल्टिमेटम दिएको थियो ।

अस्पतालले २०७५ फागुन २८ गते गोरखापत्रमा निकालेको सार्वजनिक सूचनाअनुसार ६१ जना व्यवसायीले र २०७६ जेठ २८ गतेको सूचनाअनुसार १२ जना व्यवसायीले पाँच वर्षका लागि भाडा सम्झौता गरेका थिए । अस्पतालका सटरबाट अस्पताललाई वार्षिक ९ करोड आम्दानी हुँदै आएको थियो ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्