बानेश्वरमा नेकपा नेता गिरीको शंकास्पद मृत्यु, होटलका कर्मचारी पक्राउ


 


काठमाडौं, माघ २३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका एक नेताको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको हो ।

राति १० बजेतिर सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे। महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो ।उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।

घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी बताए। उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ।

प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीको भनाइ छ । गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्