संसदबाट एमसीसी परियोजना पास नहुँदै सरकारले जारी गर्‍यो जग्गा अधिग्रहणको सूचना


 


काठमाडौँ, माघ २२
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पास नहुँदै त्यस अन्तरगतको पूर्वाधारहरु निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको छ । एमसीसीसँग भएको सम्झौता बमोजिम सरकारले पूरा गर्नुपर्ने पूर्व शर्तअनुसार रातमाटेको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो । एमसीसीसँग भएको सम्झौता अनुसार परियोजना सुरु हुनु अगावै सरकारले जग्गा अधिग्रहणको काम पूरा गरिसक्नुपर्ने उल्लेख छ । सोही अनुसार सरकाले यस्तो कदम चालेको एमसीसी पक्षधरका नेताहरु बताउँछन्।

जग्गा अधिग्रहण गरी त्यसको मुआब्जा पनि नेपाल सरकारले नै तिर्नुपर्ने पूर्वशर्त अनुसार सरकारले जग्गा अधिग्रहणको सूचना बुधबार प्रकाशन गरेको हो । गृह मन्त्रालय श्रोतका अनुसार रातमाटेको जग्गा ३ तहमा वर्गिकरण गरिएको छ । वर्गीकरणमा परेका जग्गाहरुको प्रतिआना सरदर १ लाख ७६ हजारका दरले मुआब्जा वितरण गरिने छ । मुआब्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन गरिएको हुन्छ ।

४ सय केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि नुवाकोटको रातमाटेमा एमसीसीले ३ वटा सब स्टेशन तयार गर्दैछ । आगामी असार १६ गतेदेखि सुरु गर्नैपर्ने परियोजनाका लागि अहिले जग्गा अधिग्रहणको काम सूचना जारी भएको हो । एमसीसीको सम्बन्धमा विवाद चलिरहँदा र संसदबाट पास हुनुपर्ने यो परियोजनाको सम्बन्धमा छलफल चलिरहेको भएपनि सरकारले भने जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको हो ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्