अफ्रिकी मुलुक बुर्किना फासोमा १८ जनाको हत्या


 



अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरूले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरिएको छ । कर्णेल साल्फो काबोरले हत्या गरिएका व्यक्तिको शव नियन्त्रणमा लिइएको बताउँदै सरकारी सेनाले त्यस क्षेत्रमा सैनिक कारबाही सुरु गरेको जानकारी दिए ।
मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो । सुरक्षा स्रोतले बताएअनुसार जिहादी समूहले केही दिनअघि मात्र स्थानीयलाई गाउँघर छाडेर भाग्न चेतावनी दिएका थिए । सुरक्षा फौजले उक्त क्षेत्रलाई सुरक्षित राख्न दिनरात कार्य गरेको बताए पनि ठूलो क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन कठिन भएको जनाएको छ ।
बुर्किना फासोको उत्तर पश्चिममा माली रहेको छ भने पूर्वमा नाइजर रहेको छ । यी दुवै मुलुक मुस्लिम जिहादी लडाकूका कारण सङ्कटमा रहेका छन् । कमजोर हातहतियार र तालिमको अभावमा बुर्किना फासोको सुरक्षा फौजले लडाकूहरूबाट हुने गरेका घातक आक्रमणलाई नियन्त्रणमा ल्याउन सकेको छैन । फ्रान्सेलीसमेतका केही मुलुकबाट सैनिक सहयोग प्राप्त गरे पनि सरकारी सेनाको जिहादीसँग लड्ने क्षमताको अभाव रहेको छ ।
संयुक्तराष्ट्र संघका अनुसार माली, नाइजर र बुर्किना फासोमा सन् २०१९ मा मात्र जिहादी समूहले गरेको आक्रमणमा ४ हजारको ज्यान गइसकेको छ । करिब ६ लाख नागरिक विस्थापित भएका छन् । एजेन्सी

प्रकाशित मिति: २१ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्