चुरे क्षेत्रमा राति अवैध उत्खनन्ः ४ वटा टिपर र १ जेसीभी नियन्त्रणमा, ४ जना पक्राउ


 


धनुषा , माघ २०
पछिल्लो समय देशैभर नदी, नाला तथा खोलाको अवैध उत्खनन् भइरहेको बेला धनुषामा रातिको समयमा अवैध उत्खनन हुने गरेको रहस्य सतहमा आएको छ। धनुषाको चुरे क्षेत्रमा अवैद्य उत्खनन्ले प्राकृतिक प्रकोप निम्ताउने भन्दै स्थानीयहरु त्रसित भएका छन् रातिको समयमा क्रसर तथा कन्ट्रक्सन संचालकले चुरे क्षेत्रमा अवैध उत्खनन्लाई विभिन्न स्रोतको मिलोमतोमा तिब्र बनाएका छन्।

आइतबार राति धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैद्य उत्खनन गर्ने टिपर र जेसीभीलाई प्रहरीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो। चुरे क्षेत्र कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला प्रहरीले ४ वटा टिपर, १ जेसीभीसहित ४ जना चालकलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीका अनुसार बा ३ खा ७६००, बा १ ख २९३९, ना २ ख २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ का २९८७ नम्बरको एउटा जेसिभी नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिइएको टिपर र जेसीभी जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित उपेन्द्र साहले संचालन गरेको मिथिला कन्ट्रक्सनको रहेको स्रोतले जनाएको छ।

साह जनकपुरधाम उपमहानगरपालिकामा गएको पुस २२ गते भएको पत्रकार कुटपीट प्रक्ररणमा समेत संलग्न व्यक्ति हुन्। उनीमाथि किटानी जाहेरी परेपछि हाल उनी फरार छन्। गएको पुस २५ गते मिथिला नगरपालिका ५ स्थित औरही खोलामा अवैध उत्खनन रोक्न गएको बेला तस्करहरुले स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेका थिए।

त्यो घटनापछि धनुषामा अवैध उत्खनन पूर्ण रुपले बन्द भएको थियो। जिल्ला समन्वय समितिको बैठकले बिहान सूर्य उदाएदेखि सूर्य अस्ताएसम्म दिउँसो मात्र नदीजन्य वस्तु मापदण्ड अनुसार खन्न पाउने नियम लगाएको छ। तर अझै उत्तरी क्षेत्रका नदी खोला र चुरे क्षेत्रमा दोहन जारी नै रहेको छ।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्