बालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’


 


काठमाडौं, माघ २०
उच्च अदालत पाटनले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ ।

जिल्ला अदालतको आदेश उपर परेको दुषित लिखत बदरसम्बन्धी पुनरावेदन मुद्दामा उच्च अदालतले प्रधानमन्त्री कार्यालय, मालपोत कार्यालय, गुठी संस्थान लगायतबाट तथ्यगत कागजात माग गरेको हो । अधिवक्ता दीपकराज जोशीको मुद्दामा उच्च अदालतले २०४७ सालको मन्त्रिपरिषदको निर्णय समेत माग गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुंगेलको संयुक्त इजलासले आइतबार सम्पूर्ण फाइल माग गरेको हो । बालुवाटार जग्गा प्रकरण पछिल्लो समयमा चर्चामा छ । अधिवक्ता जोशीले भने उक्त प्रकरणमा समेटिएका केही कित्ता व्यक्तिका नाममा दर्ता गर्ने निर्णय बदरको माग गर्दै यसअघि नै कानुनी प्रक्रिया सुरु गरेका थिए ।

न्यायाधीशद्वय सुवेदी र ढुगेलको इजलासले लिखत बदरको माग गरिएका कित्ता नम्बर ३३ को जग्गा फिर्ता गर्ने सम्बन्धी मन्त्रिपरिषदको निर्णय माग गरेको छ । सो निर्णय २०४७ जेठ १७ गते भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उक्त फाइल माग गर्ने आदेश अदालतले गरेको छ ।
यस्तै, इजलासले प्रधानमन्त्री निवास परिसर विस्तार गुरुयोजना अन्तर्गतको कित्ता नम्बर २८७ को जग्गा शोधभर्ना गराउने मन्त्रिपरिषदको निर्णयको प्रतिलिपि पनि माग भएको छ ।

तीर्थमाया महर्जनलाई उक्त स्थानको शोधभर्ना गर्ने निर्णय २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषदखले गरेको थियो । यस्तै इजलासले मालपोत कार्यालय डिल्लीबजारले मोहीलाई जग्गा बाँडफाँड सम्बन्धमा गरेको निर्णयको प्रमाणित प्रतिलिपि पनि माग गरेको छ । उक्त निर्णय २०६७ मंसिर १६ गते भएको अदालतको आदेशमा उल्लेख छ ।

यस्तै अदालतले सर्वोच्च अदालतले अन्तिम आदेश गरिसकेको एक रिटको मिसिल पनि माग गरेको छ । निवेदक सन्दीप ढकालले अख्तियार दुरुपयोग अनुसन्धा आयोगलाई विपक्षी बनाइ दायर गरेको रिटको आदेश माग भएको हो । उक्त रिटमा २०६४ सालमा सर्वोच्चले अन्तिम आदेश गरेको थियो । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्