विद्यालयबाटै ६ वर्षीया बालिका अपहृत!


 


काठमाडौं, माघ २०
सूर्यविनायक–५, भक्तपुरस्थित ग्लोरी इंग्लिस स्कुलमा अध्ययनरत ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन)लाई अपहरण गरी फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालिका अपहरणको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त ठिमीको संयुक्त टोलीले बालिकालाई सकुशल उद्धार गर्दै अपहरणकारीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सर्लाही लालबन्दी–५ घर भई भक्तपुर बोडे बस्दै आएका २० वर्षीया आशिष थापाले राउतलाई अपहरण गरी जंगलमा पुर्याएका थिए ।

महानगरीय अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार अपहरणकारीले फिरौतीबापत १६ लाख रुपैयाँ ठिमीस्थित भाटभटेनीमा ल्याएर बुझाउन बालिकाका आफन्तलाई भनेको र आफन्त रकम बुझाउन जाँदै गर्दा प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको हो ।

स्कुल छुट्टी भएलगत्तै बालिकालाई आफन्त हुँ भन्दै मोटरसाइकलमा राखेर थापाले अपहरण गरेको सूचना प्राप्त भएलगत्तै बालिकाको खोजीमा प्रहरी सक्रिय भएको थियो । बालिकालाई घ्याम्पेडाँडामा पुर्याएर पछाडिबाट हात बाँधेर राखिएको अवस्थामा स्थानीयले फेला पारेका थिए । प्रहरीका अनुसार बालिका रोई–कराई गर्न थालेपछि अन्य व्यक्तिले थाहा पाउने भएपछि थापा बालिकालाई छाडेर भागेका थिए । आजको राजधानी दैनिकबाट

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्