फिलिपिन्समा कोरोना भाइरसको त्रास, एक जनाको मृत्यु


 


काठमाडौं, माघ १९
कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ ।समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ ।

योसँगै यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ४ पुगेको छ । फिलिपिन्समा ज्यान गुमाउने ४४ वर्षीय बिरामी पनि वुहानबाट आएका थिए । वुहानबाट नै गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण शुरु भएको थियो ।

फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको सीएनएनले जनाएको छ ।चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । चीनमा थप २५ सय ९० बिरामी फेला परेका छन् । योसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या १४ हजार ३ सय ८० पुगेको छ ।

विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो । हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो भाइरस एक दर्जनभन्दा बढी देशमा फैलिसकेको छ । जसमा नेपाल, कम्बोडियो, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, जर्मनी, भारत, इटाली, जापान, मलेसिया, फिलिपिन्स, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, ताइवान, थाइल्याण्ड, बेलायत, युनाइटेड स्टेट्स, यूएई र भियतनाम रहेका छन् ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्