कोरोना भाइरसले नेपालका विकासे आयोजना प्रभावित!


 


काठमाडौं, माघ १८
चीनमा तिब्र रुपले फैलिरहेको कोराना भाइरसको संक्रमणका कारण नेपालका अधिकांश विकासे आयोजनाहरु प्रभावित भएका छन्। विभिन्न विकासे आयोजनामा कार्यरत चिनियाँ परमर्शदाता, ठेकेदार, व्यवस्थापक र कामदार नयाँ वर्ष मनाउन चीन गएपछि समयमा नेपाल फर्किदा आयोजना प्रभावित भएको हो।

नयाँ वर्ष मनाउन धेरै चिनियाँ प्राविधिक, कामदार र व्यवस्थापकहरु घर गएका बेला त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीनमा कतिपय प्रान्तले अर्को प्रान्तमा हुने आवतजावतमा कडाइ गरेपछि त्यहाँ पुगेका कामदार नेपाल आउन समस्या भएको हो।

यसले केही महत्वपूर्ण आयोजनाहरु प्रभावित हुने डर पैदा भएको सरकारी अधिकारीहरुले बताएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार पोखरा र भैरहवा विमानस्थलमा कार्यरत आधाभन्दा बढी चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन पुगेका छन् ।

केही आयोजनामा सीमित चिनियाँ प्राविधिकहरु भएपनि कतिपय आयोजनामा उनीहरुको बर्चस्व छ । यस्ता कामदारहरु कहिले फर्किन्छन् र यहाँ कामको गति बढ्छ भन्ने अन्योल भएको छ । फेब्रुअरीको पहिलो हप्ता फर्किने गरी गएका धेरै परियोजनाका चिनियाँ प्राविधिकले आफूलाई तत्काल फर्किन कठीन हुने जानकारी आयोजनाहरुलाई गराउन थालेका छन् ।

विमानस्थल र सडक आयोजनाहरुमा मात्रै नभएर ऊर्जा, खानेपानी र सिञ्चाई र सञ्चारका आयोजनामा पनि चिनियाँ कम्पनीका ज्वाइन्ट भेन्चरहरु संलग्न छन् । सडक र ऊर्जाका धेरैजसो आयोजनामा नेपाली कम्पनीले चिनियाँ कम्पनीसँग नै भेन्चर गर्ने गरेका छन् ।

यस्तो अवस्थामा चीनमा आएको संकटको अवस्थाले नेपालको विकासमा पनि धक्का लाग्ने जोखिम निम्तिएको छ । हाल सन् २०२१ सम्म निर्माण सक्ने लक्ष्यसहित काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ ठेकेदार कम्पनी संलग्न छ । चीनकै लगानीमा बनिरहेको यो आयोजनामा चिनियाँ कम्पनी सीएएमसीले काम जिम्मा पाएको हो । आयोजनामा हालसम्म ५० प्रतिशत हाराहारी मात्रै काम सकेको छ ।

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि चिनियाँ नर्थ वेस्ट एभियसन कम्पनीको हातमा छ । विमानस्थलको सिभिलतर्फको निर्माणको काम अन्तिम चरणमा छ । मेलम्ची खानेपानी आयोजनामा पनि पुनः चिनियाँ कम्पनीले नै प्रवेश पाएको छ । यो आयोजनामा भने चिनियाँ कामदार निकै कम भएकाले अहिलेको संकटले फरक नपर्ने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

निर्माणको अन्तिम चरणमा पुगेको तामाकोसी जलविद्युत आयोजना पनि चिनियाँ कम्पनीले नै बनाएको हो । यसको सिभिलतर्फको सबै काम सिनो हाइड्रोले गर्दैछ । आगामी असारदेखि तामाकोसी आयोजनाको एउटा युनिट सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा पनि चिनियाँ ठेकदकार नै संलग्न छ । भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का चीनको रमणले ग्वाङ्डोन युनाटियनसँग मिलेर गरिरहेको छ ।

नेपाल टेलिकमको फोरजी र एलटीई सेवा विस्तारको काममा पनि चिनियाँ कम्पनी संलग्न छ । मध्यहपहाडी लोकमार्गमा अप्टिकल फाइबार विस्तार गर्ने आयोजनाहरुमा पनि चिनियाँ कम्पनीको बोलबाला छ । दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गारएर विभिन्न टेलिकम सेवा प्रदायकमार्फत लगाइएका ठेक्कामा चिनियाँ कम्पनीको बर्चस्व छ ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ । यो आयोजनाका दुई वटै प्याकेज चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएर काम गरिरहरेको छ । चिनियाँ ठेकेदारहरु नेपालमा ऊर्जासम्बद्ध दर्जनौं आयोजनामा संलग्न छन् ।

चीनका लागि नेपाल आफ्ना अन्य उत्पादनहरुको मात्रै नभएर पूर्वाधार निर्माताहरु (निर्माण व्यवसाय) को राम्रो बजार हो । आफूहरुसँग भएको उच्चस्तरको क्षमता प्रयोग गर्न उनीहरु सम्भाब्य सबै निर्माणसम्बद्ध ठेक्कामा प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।कम लागतमा काम गर्न सक्ने र त्यसबाट उत्कृष्ट नतिजा दिनसक्ने भएकाले चिनियाँ कम्पनीहरु नेपालको निर्माण बजारमा छाएका छन् । नेपालमा विदेशी ठेकेदार सहभागी हुने प्रायः सबै ठेक्कामा चिनियाँ ठेकेदारको दबदबा छ ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्