चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी: अतिरिक्त शुल्क लिन फेरि सुरु


 


काठमाडाैं, माघ १८
काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् ।

सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग थप रकम माग्दै आएका छन् ।

हालसम्म विराटनगरस्थित नोबेल मेडिकल कलेजले २८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको छ । यस्तै, काठमाडौं मोडेल कलेजले ४ लाख ३५ हजार रुपैयाँ अतिरिक्त शुल्क मागेको अभिभावकले गुनासो गरेका छन् ।

यस्तै, नेपाल मेडिकल कलेजले अतिरिक्त ४ लाख ३५ हजार रुपैयाँ, नेपालगन्ज मेडिकल कलेजले ६ लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको अभिभावकको गुनासो छ । यस्तै, अभिभावकबाट विराट मेडिकल कलेजले पनि चार लाखसम्म अतिरिक्त शुल्क लिएको अभिभावकको भनाइ छ ।
ती कलेजले इन्टर्नसिप, सेक्युरिटी डिपोजिट, केयू रजिस्ट्रेसन, काउन्सिल रजिस्ट्रेसनबापत मनपरी शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए ।

मेडिकल कलेजले इन्टर्नसिपबापत २ लाख, सेक्युरिटी डिपोजिटबापत २ लाख, केयू रजिस्ट्रेसनबापत २० हजार र काउन्सिल रजिस्ट्रेसनबापत १५ हजार रुपैयाँसम्म लिएका छन् । कडरियाले भने, ‘सरकारले शुल्क मापदण्ड बनाइसके पनि कार्यान्वयन भएको छैन । अब आन्दोलनको विकल्प छैन ।’

चिकित्सा शिक्षा ऐनमा शिक्षण शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क सम्झनुपर्छ र सो शब्दले आयोगको स्वीकृतिमा शिक्षण संस्थाले लिने अन्य शुल्कसमेत जनाउँछ ।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको उजुरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा परेपछि आयोगले कलेजसँग स्पष्टीकरण सोधेको छ । अतिरिक्त शुल्क लिनुको कारणसहित स्पष्टीकरण पेस गर्न आयोगले काठमाडौं मेडिकल कलेजलाई निर्देशन दिएको छ ।

चिकित्साशास्त्र शुल्क निर्धारण समितिले उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण गरेको थियो । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो । आजको राजधानी दैनिकबाट

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्