कोरोना भाइरसको त्रासले पर्यटन प्रभावित


 


पाेखरा, माघ १८
पोखराको लेकसाइडस्थित रेस्टुरेन्ट चान तासीमा मंगलबार दिउँसो चिनियाँ पर्यटक मास्क लगाएर छिरे । भित्र भने उनीहरूले खानाका लागि मास्क झिके । रेस्टुरेन्टका वेटरले मास्क लगाएरै पर्यटकलाई खाना दिए ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण पोखरामा पनि त्रास बढेको छ । चिनियाँ पर्यटकको बढी चहलपहल हुने रेस्टुरेन्ट तथा होटलमा सतर्कता अपनाइएको छ । सतर्कता अपनाउँदै मास्क लगाएरै पर्यटकलाई सेवा दिँदै आएको चिनियाँ रेस्टुरेन्ट चान तासीमा कार्यरत निसाना थापा मगरले बताइन् ।

रेस्टुरेन्ट सञ्चालक चान उइलिनले कोरोना भाइरसका कारण चिनियाँ पर्यटकको आगमन प्रभावित भएको सुनाए । जनवरी २४ मा सुरु भएको चिनियाँ नयाँ वर्षमा गत वर्षभन्दा ३० प्रतिशत कम चिनियाँ आफ्नो रेस्टुरेन्टमा आएको उनले बताए ।

लेकसाइडमा २३ वटा रेस्टुरेन्ट र चार होटलमा चिनियाँ व्यवसायीको लगानी छ । ८० प्रतिशत ग्राहक चिनियाँ नै हुन् । बाँकी २० प्रतिशत नेपाली र अन्य मुलुकका पर्यटक हुने गरेको उनले सुनाए । चिनियाँलाई लक्ष्य गरी सञ्चालित व्यवसाय समस्यामा पर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘अफ सिजन’ मानिएको अक्टोबर, जनवरी र फेब्रुअरीमा भूकम्प जानु तीन वर्षअघिदेखि चिनियाँको आगमन बढेको थियो । भूकम्पको असरपछि बल्ल चिनियाँ पर्यटकको आगमन बढ्न लाग्दा कोरोना आतंकले पर्यटन उद्योग प्रभावित हुन लागेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले सुनाए ।

चिनियाँ नयाँ वर्षका बेला विगतमा पोखरामा कुल पर्यटकमध्ये २५ प्रतिशत चिनियाँ हुन्थे । यो वर्ष १० देखि १५ प्रतिशत मात्र चिनियाँ रहेको उनले सुनाए । पोखरामा स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत पर्यटक छन् । कोरोनाका कारण अन्य देशका पर्यटक पनि घट्न सक्ने भएकाले सरकारले अन्तर्राष्ट्रिय प्रविधि अपनाएर नेपाललाई सुरक्षित बनाउन तत्काल पहल गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ ।

जनवरी २५ देखि फेब्रुअरी ७ सम्म २ सय चिनियाँले कोरोनालाई कारण देखाएर बुकिङ रद्द गरेको ड्रागन होलिडे ट्राभल्सका सञ्चालक पुष्करराज पाठकले बताए । उनका अनुसार जनवरी २५ देखि तीन महिनासम्मका लागि १ हजारभन्दा बढीले बुकिङ रद्द गरेका छन् । पोखरामा ६ सय ५० होटलमा ३० हजार बेड संख्या रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष तुलाचनले बताए ।

विमानस्थलमा भाइरस जाँच कक्ष

प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबार पोखरा विमानस्थलमा कोरोना भाइरस जाँच कक्ष स्थापना गरेका छन् । ‘अहिले सामान्य लक्षण जाँच हुन्छ’, निर्देशनालयका अधिकृत होगेन्द्र भुर्तेलले भने, ‘आवश्यक परे रगत पनि जाँच गर्नेछौं ।’

उनले पोखरामा कोरोना रोकथाम गर्न सकिने तर उपचारमा कठिना हुने बताए । विदेशबाट आएकाहरूको उपस्थिति बढी हुने भएकाले विमानस्थमा सहायता कक्ष राखिएको उनले सुनाए । उनका अनुसार लेकसाइडमा पनि आइतबार सहायता कक्ष राखिनेछ । जाँच कक्षमा स्वास्थ्यकर्मी र उपकरणको प्रबन्ध गरिएको छ ।

पोखरामा कोरोनाको लक्षण भने भेटिएको छैन । कोरोना थाहा पाउन रगत जाँच्ने किट भने अभाव छ । शंका लागे जाँच्नका लागि काठमाडौं पठाउने तयारी यहाँका स्वास्थ्य संस्थाले गरेका छन् ।

स्वास्थ्य अधिकारीले कोरोना रोकथाममा लाग्न तर नआत्तिन अपिल गरेका छन् । ‘प्रदेशका सबै स्वास्थ्य संस्थामा कोरोना भाइरसका बिरामीका लागि उपचारको प्रबन्ध गर्न सबैतिर पत्राचार भएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीलाई पनि उपचारमा सजग रहन भनिएको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएका कतिपय चिनियाँ नयाँ वर्ष मनाउन गएकोमा अझै फर्किएका छैनन् । विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार चीनबाट फर्किएका एक जनालाई काममा लगाइएको छैन । उनले भने, ‘छुट्टै १५ दिन राखेपछि मात्रै काममा फर्काउनेछौं ।’

चीन पुगेका कामदारलाई पनि उतै १५ दिन छुट्टै राखेपछि मात्रै फर्किन पत्राचार गरिएको उनले सुनाए । ‘आएपछि पनि फेरि यहाँ १५ दिन छुट्टै राखेर काममा लगाउन भनेका छौं’, उनले भने । उनका अनुसार २५० जना चिनियाँ कामदार पोखरा विमानस्थल निर्माणमा खटिएका छन् ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्