छाउगोठ भन्दै जनताको घर भत्काउन पाइन्छ ? : सांसद महत


 


काठमाडौं, माघ १७
सरकारले छाउगोठ भत्काइएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काइएको भन्दै विरोध गरेका हुन् । सांसद महतले छाउगोठ भत्काएकोमा गम्भीर आपत्ती समेत जनाए। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिडेको आरोप पनि लगाए। छाउगोठको नाममा सरकारले आफुहरुको घर भत्काएको आरोप पनि उनले लगाए।

उनले भने “हाम्रो गाउँ घर तिर उखान छ। काम नपाए बुहारी कुकुरको पुछ कन्याउ। अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ। छाउ गोठको नाममा घर भत्काईएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छेको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने ? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ बस भत्काउँदै आगो लगाउँदै हिड्ने ? यो पनि तरीका काँही हुन्छ ? चाहिदो काम गर्नुपर्यो नि। जिल्लामा जाने नुन, औषधी बेचिएको छ। त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनुछैन। पुलको बेहाल छ बाटोको बेहाल छ ,उनीहरुलाई समाउनुछैन। ठेकदार कहाँ छ कहाँ छ थाहा छैन ,तीनलाई कारवाही गर्नुपर्दैन ? स्कुलको अवस्था के छ। अस्पतालको अवस्था के छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो। अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन यसले ?”

उनले छाउगोठ भत्काएकोमा विरोध गर्दै आफ्नो भनाई राख्दै गर्दा प्रतिनिधिसभा बैठक हासोले गुञ्जयमान भएको थियो। छाउगोठको अन्त्य गरिनुपर्ने भन्दै कुरा उठाउने महिला सांसदहरुपनि हासिरहेका थिए।शून्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गराएका छन्। पश्चिम नेपालका कतिपय जिल्लाहरुमा महिनावारी भएका महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ । छाउगोठमा बसेकै अवस्थामा कतिपयको मृत्यु हुन थालेपछि सरकारले छाउगोठ भत्काउने अभियान चलाएको छ । स्थानीय प्रहरी प्रशासनले छाउगोठ भत्काए पनि स्थानीयले फेरि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने गरेका छन् ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्