ईयूबाट बाहिरियो बेलायत, ११ महिना संक्रमणकाल


 


एजेन्सी, माघ १७
युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए ।

त्यसपछि बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘ब्रेक्जिट अन्त्य नभएर सुरुवात हो,’ बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले भनेका छन् ।

ईयूबाट बाहिरिएपछि ११ महिना संक्रमणकाल रहनेछ । युरोपियन कमिसनकी अध्यक्ष युर्सुला भोन डेर लियनले ईयू र यूके असल मित्र र साझेदारका रूपमा रहिरहून भन्ने आफ्नो चाहना रहेको बताएकी छन् । बेलायत ईयूबाट बाहिरिएपछि पनि टाढा नहुने र माया गरिराख्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्