क्रसर उद्योगको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु


 


गोरखा , माघ १७
गोरखामा क्रसर उद्योगको टिपरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ। गोरखा नगरपालिका–१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको हो ।

स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी अवस्थामा तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको हो। गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन् । क्रसर उद्योगका अन्य चार(पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन् । उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् । उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ । गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्