बिकराल बन्दै कोरोना भाइरसको सक्रमण, मृतकको संख्या १ सय ७० पुग्यो


 


काठमाडौं, माघ १६
चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार १ सय ७० पुगेको छ। यसका साथै कोरोना भाइरसका १ हजार ७ सय नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।नयाँ आँकडा सार्वजनिक भएपछि संसारभरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७ हजार ७ सय ११ पुगिसकेको छ भने संदिग्धको संख्या १२ हजार १ सय ६७ बताइएको छ ।

डाक्टरका अनुसार संक्रमित व्यक्तिमधये हरेक पाँचमध्ये एक व्यक्तिमा गम्भीर निमोनियाका लक्षण देखिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहेनोमले भनेका छन्, ‘कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने या नगर्ने बारे निर्णय हुनेछ ।’

कोरोना भाइरसको संक्रमण फैलिएपछि युहानबाट पाँच लाख मानिसले छाडेको जनाइएको छ ।दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ । वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ । विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसीमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्