काठमाडौंमा बंगलादेशी नागरिकको हत्या!


 


काठमाडौं, माघ १६
बंगलादेशी नागरिकको हत्या भएको छ । काठमाण्डौको सोल्टीमोडमा रहेको होटल ग्राण्ड भिलामा ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको हो ।बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको हो । अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् । अहमद ७ पटक नेपाल आएको राहदानीमा भएको रेकर्डले देखाउँछ । क्यासिनो खेलेर रमाइलो गर्ने सौखकै कारण नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतकाअनुसार होटलमा अहमदकै नामबाट कोठा बुक गरिएको थियो । त्यसैले प्रहरीलाई होटलमा रहेका अर्का व्यक्तिको परिचय पत्ता लगाउन सुरुमा गाह्रो भएको थियो । तर अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अध्यागमन विभागबाट प्रहरीले मियाबारे जानकारी संकलन त गर्‍यो तर निकै ढिला भइसकेको थियो ।

घटनापछि नेपालस्थित बंगलादेशी दूतावासले पनि प्रकरणमा चासो दिएको छ । दूतावासका अधिकारीले गम्भीरतापूर्वक अनुसन्धान गरेर आरोपी पत्ता लगाइदिन नेपाल प्रहरीलाई आग्रह गरेका छन् । बंगादेशमा हत्यामा संलग्नलाई फाँसीको सजाय छ । त्यसैले मिया भारतमै लुकेर बस्न सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्