‘न समयमै विक्री गर्न पाउँछौं, न तोकेको मूल्य’


 



अंकुश कुँवर
धनगढी, माघ १५
कञ्चनपुरको पुनर्वास नगरपालिका विकास बस्तीका उखु किसान रामशरण रानाले उखु लगाएको खेतमा हिउँदे बाली लगाउन पाउनुभएन । मंसिरमै काटेर बेचिसक्नुपर्ने उखु समयमै विक्री गर्न नसक्दा उहाँको १० कट्टा जमिन उखु काटिसकेपछि बाँझै रहने भएको छ ।

उहाँले उखु अझैसम्म पनि बेच्न सक्नुभएको छैन । केही काटेको उखु पनि खेतमै थन्क्याएर राख्नुभएको छ । बेलौरीमा रहेको भागेश्वर चिनी मिलले समयमै उखु खरिद नगर्दा उहाँले यो समस्या बेहोर्नु परेको हो ।

मिलबाट बल्ल पर्ची (चिट) पाइएपनि मिलसम्म लैजाने साधान नपाउँदा काटेर राखेको उखु पनि खेतमै थन्क्यिाउनुभएको छ उहाँले । ‘मिललाई कोसंग कति उखु छ भनेर सबै थाहा छ, तर, पर्ची माग्दा समयमै पाइँदैन’ उहाँले भन्नुभयो, ‘ढिलो गरिदिँदा हिउँदे खेती नै लगाउन पाइँदैन ।’ पर्ची दिइएपछि मात्रै किसानले मिललाई उखु बेच्न पाउँछन् । एक पर्चीमा किसानहरु एक सयदेखि एक सय ५० क्वीन्टल उखुसम्म बेच्न पाउँछन् ।

रामशरण मात्रै नभई जिल्लाका अन्य उखु किसानहरुले यही समस्या भोगिरहेका छन् । किसानले पर्ची पाउनुपर्ने ठाउँमा विचौलियाहरुले पाइरहेको किसानहरुको आरोप छ । समयमै पर्ची नपाएपछि केही किसानहरु हिउँदे खेती गर्नको लागि पनि बिचौयालाई सस्तोमा पनि उखु बेच्न बाध्य भइरहेको छ उनीहरुको भनाई छ ।

‘हामी किसानहर पर्ची नपाएर उखु विक्री गर्न पाइरहेका छैनौं,’ अर्का उखु किसान रामनाथ रानाले भन्नुभयो, ‘बाहिरका अन्य मान्छेले नै पर्ची लिएर हामीहरुबाटै सस्तोमा उखु खरिद गरेर मिललाई विक्री गर्छ । यो कसरी सम्भव हुन्छ ?’

मिल र बिचौलियाको मिलेमतामा उखु किसानहरु मर्कामा परिरहेको उहाँको भनाई छ । जसरी किसानहरुको जग्गा सर्भे गरिन्छ, त्यसैगरि मिलले समयमै उखु खरिद गरेर तोकिएको मूल्य दिनुपर्ने रामनाथले बताउनुभयो ।

आफूले दुई विघामा उखु खेती गरेको भएपनि पर्ची नपाएर समयमै बेच्न नपाएको उहाँले दुखेसो पोख्नुभयो । बिचौलियाले किसानको नाममा पर्ची लिएर भारतबाट पनि उखु खरिद गर्ने गरेको किसानहरुको आरोप छ ।

सोही ठाउँका नाथे रानाले दुई विघामा लगाएको उखुमध्ये एक विघामा लगाएको उखु मात्रै समयमै विक्री गर्न पाउनुभयो । समयमै उखु विक्री भएको जमिनमा मसुरो लगाउने मौका पाउनुभयो तर, अर्को एक विघा जमिन भने अहिले बाँझै रह्यो । उहाँले केही दिनअघि मात्रै बाँकी रहेको एक विघाको उखु विक्री गर्नुभएको छ ।

हिउँदे बाली लगाउने समय घर्कीसमेपछि पछिको जग्गामा उहाँले बाली लगाउन पाउनुभएन । उखुबाट केही फाइदा हुन्छ भनेर उखु खेतीमा आकर्षित भएका किसानहरु समयमै विक्री गर्न पाउन मर्कामा पर्दै आएका छन् ।

तोकेको मूल्य पनि पाइँदैन
उखु कि किसानहरुले समयमै उखु विक्री गर्न नपाउने समस्या मात्रै नभई मिल आफैले तोकेको मूल्य पनि पाइरहेका छैनन् ।

भागेश्वर मिलका अनुसार प्रतिक्वीन्टल अर्ली जातको उखुको मूल्य पाँच सय छ रुपैयाँ, जर्नलको चार सय ८१ र रिजेक्टको मूल्य चार सय ६६ रुपैयाँ छ । यो मिलले आफै तोकेको मूल्य हो । तर, सरकारले अहिले उखुको मूल्य पाँच सय ३६ रुपैयाँ प्रतिक्वीन्टल तोकेको छ ।

कञ्चनपुरका किसानहरु भने मिलले नै तोकेको मूल्य पनि पाउन सकिरहेका छैनन् । ‘मैले रिजेक्ट जातको ९९ क्वीन्टल ९२ किलो उखु मिललाई विक्री गरेँ’ स्थानीय घुम्मन रानाले भन्नुभयो, ‘तर, मैले यस वाफत ३६ हजार तीन सय ६८ रुपैयाँ मात्रै पाएँ ।’

उहाँले आफूले सरकारको तोकेको त परै जावस् मिलले आफै तोकेकोअनुसारको पैसा पनि नपाएको गुनासो गर्नुभयो । मिलले दिएको यो रुपैयाँअनुसार उहाँलाई प्रतिक्वीन्टल तीन सय ६३ रुपैयाँ ९७ पैसा दिइएको पाइयो ।

मिलले आफै तोकेको रिजेक्ट जातको उखुको मूल्य प्रतिक्वीन्टल चार सय ६६ रुपैयाँका हिसावले घुम्मले ४६ हजार पाँच सय ६२ रुपैयाँ पाउनुपर्ने हो । सरकारले तोकेअनुसार भन्ने हो भने उहाँले ५० हजार पाँच सय ५९ रुपैयाँ पाउनुपर्ने हो ।

त्यस्तै, राजेन्द्र रानाले पनि जर्नल जातको उखु चार सय १५ रुपैयाँका दरले नै ७१ क्वीन्टल ४१ किलो उखु मिललाई विक्री गर्नुभयो । यस हिसावले उहाँले २९ हजार ६ सय ३५ रुपैयाँ पाउनुभयो । मिलले आफै तोकेको जर्नल जातको उखुको प्रतिक्वीन्टलका हिसावले उहाँले ७१ क्वीन्टल ४१ किलो उखुको मूल्य ३४ हजार तीन सय ४८ रुपैयाँ पाउनुपर्ने हो ।

सरकारले तोकेअनुसार राजेन्द्र रानाले ३६ हजार एक सय ३३ रुपैयाँ पाउनुपर्ने हो । तर, मिलले आफै तोकेको मूल्यअनुसार पनि किसानले उखुको मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।

भागेश्वर सुगर मिलका सञ्चालक शंकर बोगटीले छिट्टै सरकारले तोकेको उखुको समर्थन मूल्य लागू गर्ने क्रममा रहेको बताउनुभयो । उहाँले सरकारले गत पुस १० गते उखुको समर्थन मूल्य तोकेको र पुस ११ गतेदेखि खरिद भएको उखुको समर्थन मुल्य अनुसारकै रकम भुक्तानी गरिने बताउनुभयो ।

तर, पुसको अन्तिममा उखु विक्री गरेकाहरुले पनि पुरै मूल्य पाउन सकेका छैनन् । मिल सञ्चालक बोगटीले पछि समर्थन मूल्य नपाएका किसानलाई दोस्रो किस्तामा रकम दिइने बताउनुभयो ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्