कारको टायरमा गोली हानी महिलासहित तीन गाँजा तस्कर पक्राउ


 


काठमाडौँ, माघ १५
मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको छ । गाँजा तस्करीमा संलग्न भएको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेको हो।

भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्‍याङमा प्रहरीलाई छलेर भग्ना खोज्दा पक्राउ परेका हुन्। सुरुमा प्रहरीले उनीहरुमाथि प्रहरीले हवाई फायर गरेको थियो । एसपी राठौरका अनुसार भारत मुजफ्फरपुरका अजयमल सवारी चालक, सञ्जीव पासवान र जाहेरा खातुन पक्राउ परेका हुन् ।

गाडीमा महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजाको तस्कर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी राठौरले बताए । नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ३२ किलो गाँजा बरामद भएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसअघि पनि मकवानपुर प्रहरीले पुस १९ गते तीनजना गाँजा तस्करलाई गोली प्रहार गरी पक्राउ गरेको थियो ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्