सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेबाट ‘हेर्दाहेर्दैमा’


 


काठमाडौं,माघ १४
सर्वोच्च अदालतले नवनियुक्त सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिट निवेदन ‘हेर्दाहेर्दै’मा राखेको छ। सभामुखमा चयन हुनुअघि चुनावसमेत रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सोमबार बहस नसकिएपछि मंगलबार निरन्तर हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा परेको मुद्दामा रिट निवेदकको पक्षबाट कानुन व्यवसायीहरू दिनेश त्रिपाठी, सुनिल पोखरेल, ओमप्रकाश अर्याललगायत सात जनाले बहस गरेका थिए। रिट निवेदकले सभामुखमा निर्वाचन रोक्नसमेत माग गरेका थिए। तर सभामुखको चुनाव भइसकेकाले बहसको क्रममा पदीय हिसाबले काम–कारबाही गर्न नपाउने गरी रोक लगाउन बहसको क्रममा माग गरिएको छ।

बहसमा अरू मान्छेबारे जाहेरी परेमा अदालतबाट अनुमति लिएर तुरुन्तै पक्राउ गरिने तर सापकोटालाई अनुसन्धानसमेत नगन्दै कानुन व्यवसायीले पक्राउ गर्न माग गरेका थिए। यसअघि २०६८ सालमा परेको सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतले पन्ध्र–पन्ध्र दिनमा अनुसन्धान गरी प्रतिवेदन पेस गर्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशअनुसार काम गर्न कानुन व्यवसायीले बहसको क्रममा माग गरे।

नेपालमा द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेपाल इच्छुक नदेखिएकाले अन्तर्राष्ट्रिय समुदायको झनै चासो बढ्ने बहसको क्रममा चिन्ता व्यक्त गरेका थिए। आइतबार सो मुद्दा ‘हेर्न नमिल्ने’ मा सूचीमा हालिएको थियो। न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएपछि मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो। फुयाल न्यायाधीश हुनुअघि सापकोटा सम्बन्धित मुद्दा बहसमा भाग लिएकाले उनले ‘हेर्न नमिल्ने’ भएको हो।

नेकपाले सापकोटालाई सभामुख उम्मेदवार घोषणा गरेपछि सर्वोच्चमा रिट दर्ता भएको थियो। सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार निवेदन दर्ता गरेका थिए। सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दर्ता भई अनुसन्धान चलिरहेको छ। त्यसै किटानी जाहेरीसँग सम्बन्ध राख्ने सापकोटाको मुद्दा सर्वोच्चको संवैधानिक इजालसमा विचाराधीन छ। मुद्दाको पेसी माघ २२ मा सुनुवाइ तोकिएको छ।नागरिक दैनिकबाट

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्