यी हुन् जीवनसाथीलाई कहिल्यै भन्न नहुने ६ कुरा


 


पति-पत्नीबीचको सम्बन्धमा टकराव आउनेमात्रै नभएर डिभोर्स नै हुनेसम्मका घटनामा निकै वृद्धि भएका छन् । यतिमात्रै होइन, प्रेमी-प्रेमिकाबीच ब्रेकअपको दर पनि बढ्दो छ । सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारणमात्रै नभएर स-साना असावधानीले पनि भूमिका खेलिरहेको हुन्छ । आउनुस्, आज हामी आफ्नो प्रेमि-प्रेमिका वा पति-पत्नीलाई भन्नै नहुने ६ कुरा जानकारी दिँदैछौं ।

गलत शब्दको प्रयोग:
एक सर्भेअनुसार झगडा पर्दा वा थोरै तिक्कता आउँदा गरिने गलत शब्दको प्रयोगले सम्बन्ध टुटाउन निकै भूमिका खेल्ने गरेको छ । ‘अगुल्टो पनि नठोसी बल्दैन’ भन्ने भनाइ हाम्रो समाजमा निकै प्रचलित छ । बेलाबखत झगडा हुनु स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ ।

सम्बन्ध तोड्छु भनिनहाल्नुस्:
सयौं पटक आग्रह गर्दा पनि तपाईंको जीवनसाथीले तपाईंको कुरा सुन्ने नाम नै लिइरहेको छैन भने रिसको झोंकमा अलग्गिने कुरा नगरिनहाल्नुस् । पहिला उससँग धेरैभन्दा धेरै कुरा गर्ने प्रयास गर्नुस् । उसको मनको कुरा बुझ्नुस्, यसो गर्दा उसले तपाईंको कुरा किन मानिरहेको छैन भन्ने जान्न सक्नुहुन्छ । अनि विस्तारै उसकै ठाउँमा रहेर सम्झाउने कोशिस गर्नुस् । अवश्य तपाईं सफल हुनुहुनेछ ।

कतिपय सिक्रेट आफूमै सीमित राख्नुस्:
बाहिरी दुनियामा कोही मन पर्‍यो भने ऊ बारे आफ्नो जीवनसाथीलाई कहिल्यै नभन्नुस् । जसले सम्बन्धमा खलल पुर्याउन सक्छ । वास्तविक जीवनमा तपाईंको जीवनसाथी नै आफ्नो हो । बाहिरी दुनियाँमा देखिने मानिसहरु त घामछायाँजस्तै हुन्, जो जुनसुकै बेला पनि अलप हुन सक्छन् ।

तुलना गर्नबाट बच्नुस्
अरु कोही राम्रो मानिससँग आफ्नो जीवनसाथीलाई तुलना गर्नबाट बच्नु नै बेस हुन्छ । तिमीभन्दा त उसको यो राम्रो छ, त्यो राम्रो छ भनेर तुलना गर्नुभयो उसलाई निकै नै नराम्रो लाग्छ । तपाईंप्रतिको विश्वास डगमगाउन थाल्छ । कसैलाई पनि आफ्नो तुलना आफ्नो जीवनसाथीले अरु कसैसँग गरेको मन पर्दैन ।

तिमीलाई त यति पनि आउँदैन है नभन्नुस्
तपाईंले अपेक्षा गरेको केही सामान्य काम तपाईंको जीवनसाथीले गर्न सकेन भने ‘यति पनि आउँदैन है’ भनेर नभन्नुस् । बारम्बार तपाईंले त्यस्तो भनिदिँदा उसलाई निकै नराम्रो लाग्न सक्छ । जसले सम्बन्ध टुट्ने अवस्थासम्म पुर्याउन बेर लगाउँदैन ।

बहसलाई नलम्ब्याउनुस्
पति-पत्नी वा प्रेमि-प्रेमिकाबीच कतिपय समयमा केही विषयमा बहस परिरहेको हुन्छ । यस्तो बहसलाई सकेसम्म नलम्ब्याएको नै राम्रो । यदि तपाईंलाई आफू ठिक छु लागेको छ भने पनि त्यसलाई पुष्टि गर्ने धुनमा बहसलाई नतन्काउनुस् । जब बहस निष्कर्षमा नै पुगेर टुंगिन्छ, त्यहाँ त एकको जित र अर्कोको हार अवश्य नै हुन्छ । यसले जित्नेमा घमण्ड र हार्नेमा बदलाभाव उत्पन्न हुन थाल्छ । जसले कालान्तरमा तपाईंको सम्बन्धमा फाटो ल्याउन सक्छ ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्