फेरि नेपालमा पश्चिमी वायुको प्रवेश, देशभर वर्षा र हिमपातको सम्भावना


 


काठमाडौं, माघ १४
नेपालमा पुनः पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार भित्रिएको हो ।अब यसको प्रभावले तीन दिन अर्थात् आजदेखि पर्सि बिहीबारसम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै उल्लख गरेको छ, ‘नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’ आज दिउँसो पश्चिमी भेगका केही स्थान, मध्य र पूर्वी क्षेत्रका १–२ ठाउँमा हल्का वर्षाको सम्भावना छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

यस्तै राति पनि पश्चिमी भू–भागका केही स्थान र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन् । मौसमविद् मानन्धरका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको छ ।

आज काठमाडौंमा पानी पर्ने सम्भावना कति?
मंगलबार बिहान मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि मौसम आंशिक (आकाशमा थोरै बादल देखिनु) बदली भएको छ । यो बदली पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भएको मौसमविद् मानन्धरले बताइन् । उनले भनिन्, ‘आज काठमाडौंमा पानी पर्ने सम्भावनाचाहिँ एकदमै कम छ तर मौसम खुल्दैन, घाम बादल घाम बादल हुने सम्भावना छ ।’

उनका अनुसार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्