नवनिर्वाचित सभामुख अग्नि सापकोटाको आज सपथ हुँदै


 


काठमाडौं, माघ १३
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हो ।

सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध निर्वाचित भएका थिए । एकल उम्मेदवारी रहेको सापकोटालाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुख चयन गरेको हो । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनेछन् ।
यसैबीच सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन माथिको सुनुवाइको लागि आज पेसी तोकिएको छ ।

सापकोटा भने हिजो बसेको प्रतिनिधि सभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतवार(हिजो) पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लंघन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्या्दित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्