कोरोना भाइरस रोकथामका लागि प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन


 


काठमाडौं, माघ १३
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध कडा कदम चालेका छन्। भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुको साथै विमानस्थलमा कडा निगरानी राख्नु पर्ने उनले बताए।

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बोलाएर नेपालमा देखिएको कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गर्न भनेका हुन् । गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा मात्रै अहिलेसम्म ८२ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुको उपचारको अवस्थाका सम्बन्धमा जानकारी समेत लिएका छन् । नेपालमा चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । यस्तै, चिनबाटै नेपाल फर्किएकी एक महिला र एक पुरुषमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । उनीहरुको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । यस्तै कोरोना भाइरस हो वा होइन भनेर पत्ता लगाउन दुवै जनाको नमूना ९स्याम्पल० लिएर परीक्षणका लागि हङकङ पठाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभावित देशबाट आउने विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवास्था गरेको छ । यस्तै, कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा विशेष वार्डको व्यवस्था गरिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनसँगका सबै सीमानाकामा समेत स्वास्थ्य सुरक्षा व्यवस्थामा कडाइ गरेको मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाइ छ । यस्तै, काठमाडौंका सबै सरकारी तथा निजी अस्पतालहरुलाई पनि बिरामी देखिएमा उनीहरुको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्